तेस्रोआँखा
काठमाडौँ,मंसिर १८ । नेकपा एमालेको चितवन महाधिवेशनबाट दाङका शंकर पोख्रेल महासचिवमा निर्वाचित हुँदा दाङका अर्का नेता युवराज ज्ञवाली उपाध्यक्षमै दोहोरिए । पार्टीको यसअघिको नबौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ज्ञवालीको एमालेभित्र राजनीतिक हैसियत उँचो बन्न सकेन । फलतः उनि उहि पदमै दोहोरिन पुगे । उता ज्ञवालीले उपाध्यक्ष पदमा निर्वाचित भएको नबौँ महाधिवेशनमा पार्टीको उपमहासचिव हारेका पोख्रेलको भने १० औँ महाधिवेशन सम्म आइपुग्दा राजनीतिक हैसियतले छलाङ मार्यो ।
एउटै जिल्लामा एक अर्काका प्रतिष्पर्धी बनेको लामो इतिहाँस छिचोलेका पोख्रेल र ज्ञवाली अहिले पार्टीको पदाधिकारी टिममा अटाएका छन् । महासचिवको उँचो राजनीतिक कद बनाएका पोख्रेलका लागि स्वाभाविकै रुपमा ज्ञवालीको उपाध्यक्ष पद गौण बन्दै जाने छ । त्यसमाथि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘महासचिव आशिर्वाद’ ले पोख्रेललाई उनै ओलीको उत्तराधिकारी संकेत गरिरहेको छ नै ।
नबौँ महाधिवेशनबाट उपाध्यक्ष पदमा आसिन हुँदा ज्ञवाली माधव नेपाल समुहका ‘खास’ थिए । आफ्नो ईतर समुहबाट निर्वाचित ज्ञवाली पार्टीमा आँफू पछिको दोस्रो बरियतामा रहेपनि ओलीले उनलाई ‘भाउ’ दिएनन् । बरु उपमहासचिवमा पराजित शंकर पोख्रेल भने ‘ओली सेरोफेरो’ मा फन्को मारिरहे । फलतः तत्कालीन ५ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दा सम्म पनि पोख्रेलले ओली पक्षीय केन्द्रीय राजनीतिलाई ‘ह्याण्डल’ गरिरहे ।
एमाले र माओबादीको एकिकरण पश्चात बनेको नेकपा भित्र पनि पोख्रेलको प्रभाव डगमगाएन । ‘ओली फेरो’ समातेर केन्द्रीय राजनीतिमा स्थापित हुने मिशनमा रहेका शंकर ओलीका ‘प्रिय पात्र’ बन्न नेकपा भित्रको ‘ओली खेमा’ को बर्चश्व कायम गर्न काठमाडौँ दौडधुपलाई रफ्तार दिईरहे । उता शंकर नेकपा भित्र स्थापित भैरहँदा ज्ञवाली भने एक ‘गुमनाम नेता’ बन्दै गईरहे । एमाले छँदाको उपाध्यक्ष पद गुम्यो । ज्ञवालीका लागि यो सबै भन्दा राजनीतिक ‘नोक्सानी’ थियो ।
तर सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि ज्ञवालीको राजनीतिले ‘बौरिने’ मौका पायो । मााओबादी र एमाले पुरानै अवस्थामा फर्किए ।
नेकपा छँदा गुमनाम ज्ञवाली यो फैसला पछि माधव समुहको नेता ओलीको खेदो खन्ने अवस्थामा आईपुगे । अँझ भनौ, ज्ञवाली फेरी ओली पछिको दोस्रो बरियता उपाध्यक्षमा पुनरस्थापित भैदिए । तर यो पाला पनि ज्ञवाली ओली प्रिय बन्न भने सकेनन् । कारण एमाले भित्रको अन्तरबिरोधमा उनि केपी बिरोधी समुहमा सामेल भैदिए ।
पार्टी बिभाजनको संघार सम्म आईपुग्दा पनि ज्ञवाली कट्टर ओली बिरोधी बने । तर माधव कुमार नेपालले पार्टी बिभाजन गरेर एकीकृत नेकपा समाजबादी गठन गर्दा भने ज्ञवाली नेपाल देखि बिच्कीए । उनि ओली तिरै सेपिने निर्णयमा पुगे । उनि सहित १० नेताले नेपालको साथ छोडेर आँफुतिरै आएपछि ओलीले ज्ञवाली सहितका उनिहरुलाई पार्टीमा जिम्मेवारी दिन करै लाग्यो ।
तर उँचो तहको पद सुम्पेनन् ज्ञवालीलाई ओलीले । ‘ओलीलाई सत्तोसराप गरेका ज्ञवालीलाई कसरी उँचो पद दिन सक्नु ओलीले ?’ एमालेका एक नेता भन्छन् ‘उनिहरुको आन्तरिक ब्यवस्थापन अनिवार्य थियो र उहि पुरानै पदमा सिमित पारिएको अवस्था हो ।’
हुनपनि आफ्नो किचन क्याबिनेट सदस्य बनेकै कारण ईश्वर पोख्रेललाई ओलीले आँफू पछिको दोस्रो बरियतामा राखिदिए । पोख्रेल नेकपा एमालेको बरिष्ठ उपाध्यक्ष बनेका छन् । तर नबौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित ईश्वर पोख्रेल बरिष्ठ उपाध्यक्ष बनेर नबौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ज्ञवालीलाई उछिन्नु ओलीको ‘ईन्ट्रेस्ट’ लाई प्रष्टै पारेको छ ।
बरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र महासचिवमा शंकर पोख्रेललाई पुर्याएर ओलीले एमाले भित्रको आफ्नो ‘एकल बिरासत’ लामो समय कायम गर्न चाहेका छन् । ओलीको यो ‘सेटिङ’ का सामु उपाध्यक्षमा पुनः निर्वाचित ज्ञवालीलाइ एमाले भित्रको राजनीति त्यति फलदायी हुने देखिँदैन । नत उँचो राजनीतिक ओज कायम गर्न ज्ञवालीलाई ‘ओली प्रिय’ बन्न अनुुकुल नै हुने छ । पुराना प्रतिष्पर्धी ज्ञवालीलाई ‘ओली प्रिय’ बन्ने बाटोमा महासचिव शंकर तगारो बन्ने सम्भावना नकार्न सकिन्न ।
