काठमाडाैं,४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताएका छन् । आइसिटी फाउन्डेशन नेपालले आयोजना गरेको ‘हुवावे डिजिटल नेपाल कम्क्लेभ इन एसोसिएशन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल’ विषयक कार्यक्रममा मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच वृद्धि र उच्चतम उपयोगमार्फत गुणस्तरीय जीवनसँगै सूचना प्रविधियुक्त राष्ट्र बनाउनेतर्फ सरकारका कार्यहरु लक्षित रहेको बताएका हुन् ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले सरकारको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी कार्यान्वयनको बाटोमा अगाडि बढाइएको उल्लेख गर्दै फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको बताए ।
सरकारले देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उनको भनाइ छ । मन्त्री कार्कीले भने, “सरकारको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी अगाडि बढाइएको छ, फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको छ, सरकारले देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको छ ।”
आगामी आर्थिक वर्षको बजेटमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सरकारी निकायलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्ने र स्थानीय तहसम्म सूचना प्रविधि महामार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ राखिएको मन्त्री कार्कीले जानकारी दिए । त्यसैगरी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा पनि डिजिटल प्रदेशको अवधारणा अगाडि बढाउन विशेष प्राथमिकता दिइएको र स्थानीय तहले आफ्नो कार्यपालिकालाई क्रमशः सूचना प्रविधिमा आधारित बनाउँदै लगेको उनको भनाइ छ ।
