काठमाडाैं,६ असार । पेट्रोलियम पदार्थसँगै बढेको दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धिले जनता मारमा परेका छन् । सरकारबाट नागरिकले राहत पाउनुपर्नेमा आहात खेप्न बाध्य भएका छन् । दैनिक घर व्यवहार धान्न नागरिकलाई निकै मुस्कील पर्न थालेको छ । महँगीको भारीले थिचेका नागरिकलाई भारी विसाउने चौतारी चाहिएको छ ।
जनताको समस्या विसाउँने चैतारी बन्नु पर्ने नेपाल सरकारबाट मूल्य बृद्धि नियन्त्रण हुन नसक्दा जनता महँगीको चरम मारमा पिल्सीएका छन् । यसको विरोधमा सडक देखि सदनसम्म तात्न थालेको छ । मूल्यवृद्धि रोक्नका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । अहिले नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको गठबन्धन सरकार छ । यसबेलामा इन्धनको मूल्य बृद्धिले सरकारप्रति सडक देखि सदन सम्म प्रश्नहरु उब्जीउका छन् । पेट्रोलको मूल्य १७८ बाट १९९ र डिजेल र मट्टितेल १६५ बाट १९२ रुपैयाँ पुर्याइएको छ ।
यातायातमा भाडा वृद्धि
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि स्वचालित प्रणालीअनुसार भाडा समायोजन (वृद्धि भएको) विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत भाडा बढेको छ।
यस्तै, मालवाहक सवारीको हकमा पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ७.७ प्रतिशत भाडा बढाइएको विभागले जानकारी दिएको छ । विभागले प्रचलनमा ल्याएको स्वाचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा वा घटेमा सार्वजनिक सवारीको भाडा समायोजन गरिन्छ। पछिल्लोपटक इन्धनको मूल्य १६ प्रतिशतको हाराहारीमा बढेपछि सवारीको भाडा पनि बढेको हो ।
सत्ता र प्रतिपक्षी सांसबाट ध्यानाकर्षण
सातामै दुई पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको र यो मूल्यवृद्धिसँगै अन्य दैनिक उपभोग्य बस्तुहरुको वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का साथै सरकारमा रहेका दलका सांसदहरूले पनि सरकारलाई मूल्यवृद्धि नियन्त्रणमा राख्न सदनबाटै माग गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सरकार मूल्यवृद्धि रोक्न चुकेको बताए ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गरे । उनले पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने धारणा राखे । ‘हालै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । यो मूल्यवृद्धि घटाएर विकल्पको व्यवस्था गर्नुपर्छ । पेट्रोलियम पदार्थको अविलम्ब बैकल्पीक व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ देवप्रसाद गुरुङले भने ।
नेमकिपाका सांसद प्रेम सुवालले खाना पकाउनका लागि जनतालाई सस्तोमा विद्युत् उपलब्ध गराउन माग गरे । उनले सरकारको गलत नीतिका कारण पनि मुलुकमा इन्धनको मूल्यवृद्धि भएको र जनता मारमा परेको बताए । ‘बिजुली भारतमा दिन रोकेर नेपालीलाई खाना पकाउन सस्तोमा दिनुपर्ने सांसदहरुले आवाज उठाएका छन् । अमेरिकी सरकारले युक्रेनमा रुसविरुद्ध युद्ध गरेको हुँदा इन्धनको मूल्य र विश्वव्यापी रूपमा खाद्य संकट भएकोबारे सरकार सचेत नदेखिएको समेत सांसदहरुको आरोप छ ।
पाँच दलको गठबन्धन सरकारले संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मत दिएकोले पनि यो मूल्यवृद्धि भएको भन्दै सरकारले यो गल्ती सच्याउनु पर्ने कतिपय सांसदहरुको माग छ । पेट्रोलको भाउ एक महिनामा ४ पटक बढेको छ । अहिले काठमाडौं–दुबईको हवाइजहाज भाडा १४ हजार छ भने काठमाडौं–धनगढीको भाडा १५ हजार पुगेको भन्दै सदनमा सांसदहरुले यस विषयलाई महत्वकासाथ उठाएका छन् ।
मूल्यवृद्धिले जनतालाई चुलो बाल्न गाह्रो पारेको नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले बताए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले निमुखा जनताको घरमा चुलो बाल्न गाह्रो परेको छ,’ उनले तेस्रो आँखासँग भने । प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेकी सचिवसमेत रहेकी सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेकी थिइन् । मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो ।
एमालेले मूल्यवृद्धिबारे सरकारले जवाफ नदिए सदन अवरुद्ध गर्ने भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन रुलिङ गरेका थिए । उनले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेस गर्न निर्देश गर्दछु ।’ नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उक्त मूल्यवृद्धिलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेको छ ।
गगन र विश्वले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले झन्डै डेढ घन्टासम्म लामो छलफलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण नागरिकको ढाड सेकिएको बताए ।
साथै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का विषयमा पनि उनीहरुले छलफल गरेका थिए । लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगी बढ्दै गएकोले सरकारले गम्भीर भएर यसका लागि काम गर्नुपर्ने बताए । मूल्यबृद्धि नियन्त्रणमा सरकारले बैकल्पीकढंगबाट सोच्नु पर्ने उनीहरुकोे भनाइ छ । यसैगरी सेयर बजारमा देखिएको समस्यातर्फ पनि सरककारले ध्यान दिनुपर्ने सुझाव उनीहरुले दिएका छन् । जवाफमा देउवाले आफू यी कुरामा गम्भीर रहेको बताएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
सडकमा पनि आन्दोलन
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धिको विषयलाई लिएर विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । आज साँझ अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हुने अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य स्वभाविक रुपमा बढ्ने भन्दै सरोकारवालाहरुले मूल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारी संयन्त्रले काम नगरेको आरोप लगाएका छन् ।
दैनिक उपभोग्य सामानहरु दाल,तेल, चिनी, चामल, पिठो, तरकारी,फलफूल तथा दुग्दजन्य पदार्थको मूल्य पछिल्लो हप्त अचाक्ली बढेको उपभोक्ताहरुको गुनासो छ । यसलाई नियन्त्रण गर्न सरकार लाग्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले माग गरेका छन् । नेपाल आयल निगममा आजै राप्रपा निकट युवाहरुले पेट्रोलियम पदार्थको आयात मूल्य, कर, भिआइपिलाई दिइने सुविधा, कर्मचारीले लिने बोनस लगायतको विवरण माग गरेका छन् ।
महँगी र कालाबजारी नियन्त्रण गर्न सडकदेखि सदन सम्म कुरा उठेपनि सरकारले यसको बैकल्पीक व्यवस्था के हुनसक्छ भनेर खोजीको विषय बनाउन सकेको छैन् । महंगिले थिचिएका नागरिकको पिडा कहिले देख्ने र कहिले सुन्न हो ? नागरिक अनविज्ञ छन् । सरकार तिनै जनताबाट चर्को कर उठाउँने र जनतामाथि नै राज गर्ने गरिरहेको छ ।
