काठमाडाैं,८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गते विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् ।
कांग्रेसको विधान अनुसार ६ महिना भित्र विभाग गठन गरिसक्नु पर्ने व्यवस्था छ । यही व्यवस्थालाई सम्बोधन गर्न भएपनि १० गते केही विभागहरु गठन गर्ने तयारीमा हरेको नेताहरुले बताएका छन् । ‘सबै विभाग गठन गर्ने गरी तयारी छैन्’। केन्द्रीय सदस्य नैनसिंह महरले तेस्राेआँखासँग भने,‘विधानलाई सम्बोधन गर्नकै लागि भएपनि २–४ वटा सविभाग गठन गर्ने तयारी भएको बुझेको छु ।’ विधान अनुुसार विभाग गठन तथा कार्यसमितिमा महाधिवेशन भएको ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ लिएको समयानुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुग्छ ।
कांग्रेसको विधान अनुसार २८ विभागको व्यवस्था छ । विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ ।बनाउनु पर्ने पार्टीका संरचनाहरु लामो समयसम्म नबनाउदा पार्टीसंगठनहरु चलाएमान नहुँने भएकाले समयमै आवश्यक संरचनाहरु निर्माण गर्नु पर्ने केन्द्रीय सदस्यहरुले सभापति देउवालाई सुझाव दिइरहेका छन् । सभापति देउवाले विभाग गठनका लागि तयारी थालेको शीर्ष तहका एक नेताले जानकारी दिए । ‘सपथ लिएको दिनबाट असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्दछ ।
असार १० अघि नै विभाग गठनको तयारी भएको छ,’ ती नेताले भने । उनका अनुसार सभापति देउवाले एकैपटकमा सबै विभाग गठन गर्ने छैनन् । प्रारम्भमा ६/७ वटा विभाग गठन हुनसक्ने उनले बताए ।विधान अनुसारको विभागहरु गठन गर्नका लागि सभापति देउवालाई भेटेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार ध्यानाकर्षण गराएका थिए । विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठन तथा पूर्णता लगायतका विषयमा सभापतिसँग छलफल भएको महामन्त्री शर्माले जानकारी दिए । दुई महामन्त्रीले मंगलबार पनि देउवालाई भेट्ने भएका छन् ।
भेटमा पार्टीको आन्तरिक विषयमा छलफल हुने महामन्त्री शर्माले जानकारी दिए । देउवाको अघिल्लो कार्यकालमा विधान विपरीत विभाग बढाइएको भन्दै एक पक्षले विरोध गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाएपछि पार्टीभित्र निकै विवादमा परेका थिए । त्यसलाई मध्यनजगर गर्दै विधानलाई सम्बोधन गर्नकै लागि भएपनि असार १० मा केही विभागहरु गठनको तयारी भएको देउवा निकट श्रोतको भनाइ छ ।
