काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस वागमती प्रदेश नेतृत्वमा संस्थापन पक्ष विजयी हुने निश्चितप्रायः भएपछि संस्थापन र संस्थापन इतर पक्षबीच विवाद भएको छ ।
आइतबार सम्पन्न मतगणना अनुसार वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा आज पुनः मतदान हुने कार्यतालिका थियो ।
यसबीच, सभापतिका उम्मेदवार १९७ मत ल्याएर तेस्रो हुनुभएका भीमसेन प्रधानले सबैभन्दा बढी (९९२) मत पाएका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेको विज्ञप्ति जारी गरे । त्यसैका आधारमा संस्थापन पक्षका नेता बानियाँले आफ्नो जीत निश्चित भएकाले किन पुनः मतदान गर्नुप¥यो भन्ने तर्क गर्दा विवाद उत्कर्षमा पुगेको हो ।
बिहान सम्पन्न मतगणना अनुसार, कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता बानियाँले बढी मत ल्याएका थिए । दोस्रो हुने जगदीश्वर नरसिंह केसीले ८७२ मत प्राप्त गरे ।
बढी मत ल्याएका बानियाँ र केसीबीच चुनाव हुनुपर्नेमा एक–अर्काले आ–आफ्नो विजयको दाबी गर्दा झडपको स्थिति आएको एक नेताले बताए ।
कांग्रेसको विधान अनुसारमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । तर, सहमतिको प्रयासका लागि नेताहरु छलफलमा रहेको भन्दै मतदान प्रक्रिया लम्बिएको छ ।
शनिवार कुल २ हजार १५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।
बानियाँ संस्थापन अर्थात् पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा केसी संस्थापन इतर समूहका उम्मेदवार हुन् । प्रधान कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।
