काठमाडौं, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नै प्रधानमन्त्री र रक्षामन्त्री भएको समयमा एसपीपीको एउटा सम्झौता भएको बताएका छन् ।
बिहीबार माओवादीका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘केपी ओली नै प्रधानमन्त्री र रक्षामन्त्री भएको समयमा एसपीपी सम्झौता भएको हो’, प्रचण्डले भने ‘दिउँसै रातपार्ने किसिमले एमालेले गरेको सम्झौतालाई गठबन्धनले गरेको भनेर झुटो प्रचार गरियो ।’ ओली सरकारले नै एसपीपी सम्झौता गरेको उनले दाबी गरे ।
माओवादीको काँधमा देशमा प्राप्त परिवर्तनको रक्षा गर्ने जिम्मा सबैभन्दा बढी भएको उनले बताए । देशमा आएको परिवर्तन माओवादीले ल्याएको कारणले यसको रक्षा गर्ने जिम्मेवारी माओवादीले नै बढी लिनुपर्ने उनको भनाइ छ ।
माओवादी पहिलो पार्टी बन्ने सम्भावना भएको भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ । तर कांग्रेस, एमाले, जसपा जसले जितेका भएपनि यो माओवादीको जित भएको उनले विश्लेषण गरे । माओवादीको एजेन्डामा सबै पार्टीहरु चलेको हुनाले सबैको जित माओवादीको भएको उनको भनाइ छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकीदै गएकोले पार्टीलाई संस्थागत गर्न मिहिनेत गरेर लाग्न उनले पार्टी कार्यकर्तालाई आग्रह गरे । उनले एमसीसी संसदमा लाने कुरै नभएको तर एमाले गुटले नै त्यसलाई राम्रो छ, उत्कृष्ट छ भनेको कारणले त्यसको लागिसंघर्ष गर्नुपरेको बताए ।
