• ट्रेण्डिङ्ग :
जातीय विभेदमा परेकी ओखलढुंगाकी मुना दयालकाे जाहेरी लिएन प्रहरीले

जातीय विभेदमा परेकी ओखलढुंगाकी मुना दयालकाे जाहेरी लिएन प्रहरीले


  • 8.3K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    जातीय विभेदमा परेकी  ओखलढुंगाकी मुना दयालकाे  जाहेरी लिएन प्रहरीले

    काठमाडाैं,९ असार । जिल्ला प्रहरी परिसर भक्तपुरले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ । छोराछोरी पढाउन गाउँदेखि काठमाडौं आएकी ओखलढुंगाकी मुना दयाल भनिने सम्झना विश्वकर्माले आफूमाथि घर भाडामा लिने क्रममा जातीय भेदभाव र अपमान भएको भन्दै बुधबार प्रहरीकोमा जाहेरी लिएर पुगेकी थिइन् । तर, फौजदारी र सरकारवादी हुने सो मुद्दामा प्रहरीले पीडितको जाहेरी लिनै अस्वीकार गरेको हो ।

    images

    भक्तपुरको चाँगुनारायण नगरपालिका–४, मूलपानीकी कविता रायमाझीको घरमा कोठा भाडामा लिएर बस्न लागेकी विश्वकर्मालाई रायमाझी परिवारले उनी दलित भएको थाहा पाएपछि घरमा डेरा बस्न नमिल्ने बताएका थिए । त्यसपछि विश्वकर्माले आफूमाथि जातीय भेदभाव र छुवाछुत कसुर भएको जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले जाहेरी लिन नमानेको र पीडकका कुरा सुनेपछि मात्रै जाहेरी लिने भनेर फर्काएको पीडित विश्वकर्माले बताइन् ।

    ‘म माथि कोठा सर्ने क्रममा जातीय भेदभाव भएको छ । त्यही कुरा उल्लेख गरेर मैले जाहेरी लिएर गएकी हुँ,’ उनले भनिन्, ‘तर सरकारवादी हुने यो मुद्दामा प्रहरीले जाहेरी नै लिन मानेन । यसबाट प्रहरीको यो मुद्दाप्रतिको संवेदनशीलता प्रष्ट हुन्छ । जाहेरी नै नलिने प्रहरीले मलाई न्याय दिलाई दिन्छ भनेर मैले कसरी विश्वास गर्ने ?’

    विश्वकर्माजस्तै पीडितले जातीय भेदभाव र छुवाछुत कसुरमा प्रहरीले जाहेरी नै नलिएको भन्ने गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले गएको कात्तिक ८ मा नेपाल प्रहरीलाई दलित सेल गठन गर्न निर्देशन दिएका थिए । त्यसअघि संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले २० जेठ, ०७७ मै सरकार र नेपाल प्रहरीका अधिकारीलाई बोलाएर दलित सेल स्थापना गर्न निर्देशन दिएको थियो । तर, प्रहरीले अहिलेसम्म त्यस्तो दलितमैत्री सेल गठन गरेको छैन ।


    तेस्रो आँखा
    लेखकबाट थप