तेस्रोआँखा डेस्क
काठमाडौँ, मंसिर १९ । संस्थापन समूहको आडमा नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकामा अवैधानिकरूपमा ‘एकल राज’ चलिरहेको छ ।
त्यही समितिका सभापति आनन्द बिष्ट (गोरख) ले एकल निणर्यमा समितिको महाधिवेशन आइतबारका लागि फेसबुकमार्फत आह्वान गरेका छन् ।
केही घण्टा अघिमात्रै महाधिवेशन घोषणा गरेका बिष्टले भर्चुअल माध्यमबाट हुने महाधिवेशनमा सहभागी हुन अपिल पनि गरेका छन् । उनको घोषणा अनुसार यो महाधिवेशन नेपाली समय अनुसार आज बेलुका हुँदैछ ।
यसरी गरिएको महाधिवेशन आह्वानको चौतर्फी विरोध भइरहेको छ । ‘एक दिन अगाडि निमन्त्रणा गरेर कस्तो अधिवेशन गर्न खोजेको हो ? सात वर्षसम्म कानमा तेल हालेर सुतेको समर्क समिति जागेछ, बधाई छ’, अमेरिकामा रहेका एक कांग्रेसीले कमेन्टमा लेखेका छन् ।
यसैगरी, एक कांग्रेसीले आफू उम्मेदवार बन्न चाहेको भन्दै उम्मेदवारी दर्ता कहाँ गर्ने भनेर बिष्टलाई ब्यंग्य गरेका छन् । भर्जिनियाका राम मिश्र लेख्छन्- ‘यो आधा दिनको सूचनामा हुनलागेको अधिवेशनको सूचनाले सबै निष्ठावान साथीहरू अचम्मितमात्र नभई यस्ता नेतालाई जनसम्पर्क समितिको नेता मानेकोमा आफैंलाई धिक्कारी रहेका छन् ।’
‘यो अधिवेशनमा उम्मेदवारी दर्ता गर्ने ठाउँ पनि होला, निर्वाचन समिति पनि होला, मैले त देखिन, यदि छ भने जानकारी पाउँ’, मिश्रले लेखेका छन्- ‘अधिवेशन नै हुने हो भने मलाई पनि उम्मेदवारी दिन मन लाग्यो, उमेदवारी दर्ता गर्ने ठाउँ नदेखेकाले जनसम्पर्क समितिको फेसबुक पेजमार्फत मेरो आवश्यक योग्यता पुग्ने ठानी जनसम्पर्क समिति अमेरिकाको सभापति पदमा मेरो मनोनयन दर्ता गरेको घोषणा गर्दछु ।’
उनले सबै २ हजार ४६१ सदस्यसँग मत माग्न मिल्ने परिस्थिति बनाई मतदान गरी आफ्नो विजय वा पराजयको जानकारी गराउन निर्वाचन समितीलाई आग्रह पनि गरेका छन् ।
एकलरूपमा आफू नै हाबी हुने नियतले फेसबुक पेजमार्फत अधिवेशन घोषणा गरिएको भन्दै बिष्टप्रति कांग्रेसीहरू आक्रोशित छन् । फलतः यो अधिवेशनलाई अवैध भन्दै वैधानिकताको प्रश्न पनि गरिएको छ ।
‘एक दिनको खबरले अधिवेशन हुन्छ ? यो फगत नाटक हो, यसको कुनै वैधानिकता हुँदैन, यस्तो अनैतिक, गैरजिम्मेवार र फटाहा काम गर्न बन्द गरांै साथिहरू हो,’ बुद्धि लामिछाने लेख्छन्- ‘यो कांग्रेसको हुर्मत लिने काम हो, कहिँ नभएको जात्रा ... गाउँमा, सात वर्ष के हेरेर बसेको ? लाज मर्नु, मान्छेले सुने के भन्छन् ?’
त्यसो त, बिष्ट अमेरिका जनसम्पर्क समितिमा विवादित व्यक्ति हुन् । सन् २०१४ मा स्थापना भएदेखि नै सभापति रहेका उनै बिष्ट कदापि आफ्नो पद छाड्न तयार छैनन् । फलतः उनले यो समितिलाई नै अवैध बनाइसकेका छन् तर पनि संस्थापन समूहका बिष्ट नेतृत्वको अवैध समितिलाई नै कांग्रेसले वैधानिकता दिइरहेको छ ।
विधानतः जनसम्पर्क समितिको अधिवेशन प्रत्यक तीन/तीन वर्षमा हुनुपर्छ तर स्थापना भएयताको ७ वर्षसम्म पनि अधिवेशन गराउन उनले मानेका छैनन् ।
अहिले अधिवेशन घोषणा गरेका बिष्टले प्रत्यक्ष सहभागिता हुनेगरी अधिवेशन गराउन मानेनन् । फलतः २४ घण्टा अगाडिमात्रै फेसबुकमार्फत अधिवेशन आह्वान गरेर भर्चुअल विधिबाट अधिवेशन गराउने बठ्याईँ गरेका छन् ।
‘२४ घण्टा अगाडि, त्यो पनि फेसबुकमार्फत अधिवेशन घोषणा गरियो,’ एक केन्द्रीय सदस्यले भने- ‘अनि भर्चुअल विधिबाट अधिवेशन गराएर कसरी नेतृत्व चयन हुन्छ ? पुनः आफैं अध्यक्षमा टाँसिइरहने नियतमा बिष्ट छन् ।’
विधानतः अधिवेशन गराउनका लागि समितिको ठूलो हिस्साले उनलाई सुझाव दिँदै आएको थियो तर देउवा निकटस्थ बिष्टले समितिको बहुमत सुझावलाई अस्वीकार गर्दै आए ।
बिष्टको पद लोलुपताकै कारण जनसम्पर्क समिति दुई चिरा बन्यो । बिष्टदेखि असन्तुष्ट समूहले अर्को जनसम्पर्क समिति गठन गरिसकेको छ । गत वर्ष (सन् २०२० मा) गठित अर्को समितिको नेतृत्व धनञ्जय नरसिंह केसीले गरिरहेका छन् ।
बहुमत सदस्यहरूको सुझाव अस्वीकार गरेर जनसम्पर्क समितिमा एकल राज जमाउन खोजेका बिष्टले घोषणा गरेको अधिवेशनको प्रमुख अतिथिमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेका छन् ।
यसैगरी, नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीलाई कांग्रेसले निर्वाचन अधिकृत तोकेको छ । यो अधिवेशनले नेपाली कांग्रेसको यही मंसिर २४-२६ मा हुने केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि पनि छान्नु पर्ने हुन्छ । आफू र आफूले चाहेकालाई मात्र महाधिवेश प्रतिनिधि बनाउनका लागि नै यो षडयन्त्र गरिएको हो ।
‘यो सबै सेटिङ हो, सेटिङको नाटक मञ्चन भइरहेको छ,’ ती केन्द्रीय सदस्यले भने ‘मै हुँ सभापति भनेर आफैं टीका लगाए बरु शोभनीय देखिन्थ्यो ।’
