काठमाडौं, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपाल प्रज्ञा प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताएका छन् । ।
प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहेको मन्त्री आलेले जानकारी दिए। काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उनले असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समय सापेक्ष विशिष्टिकृत संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए।
प्रतिष्ठान जस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उनको भनाइ थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संविधान अनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी गराए । छिमेकी देशका प्रज्ञा प्रतिष्ठानसँग पनि सहकार्य गरेर प्राज्ञिक आदानप्रदानका माध्यमबाट काम गरिरहेको जानकारी उनले दिए ।
