काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक द्वन्द्वका कारण प्रदेश दुईको अधिवेशन आज तेस्रो दिन पनि अन्योल रहेको छ ।
आसन्न १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ देखि १८ गतेसम्म प्रदेश अधिवेशको कार्यतालिका रहेको थियो । दुई समूहबीचको आन्तरिक गुटबन्दीका कारण प्रदेशको अधिवेशन अन्याेलमा परेकाे हाे ।
केही क्षेत्रमा प्रतिनिधि चयन नभएका कारण नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सकेको छैन । आन्तरिक विवादका कारण प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन हुन नसकेको हो ।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र ४ र रौतहटको निर्वाचन क्षेत्र ४ मा प्रतिनिधि चयन भएको छैन ।
अहिले प्रदेश दुईको नेतृत्व चयनका लागि मतदानको प्रक्रिया सुरु गर्ने विषयमा छलफल भइरहेको केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले तेस्रो आँखालाई जानकारी दिए । उनले भने- प्रदेशमा खटिएका निर्वाचन अधिकृतहरुलाई सर्कुलर गरिसकेकाले साँझसम्म केही निश्कर्ष आउने छ । अहिले केन्द्रीय नेताहरुसहितको बैठक बस्दैछ ।
महोत्तरी क्षेत्र नम्बर ३ मा पनि विवाद देखिएको छ । त्यहाँ निर्वाचन गराउने जिम्मेवारी पाएका धिरेन्द्र मण्डलले आफूलाई अपहरण गरी एक पक्षले शनिबार जर्वजस्ती निर्वाचित भएको प्रमाणपत्र लिएको भन्दै राजीनामा दिएका थिए । उनको राजीनामापछि त्यस क्षेत्रको अधिवेशन पनि अन्याेलमा परेको छ ।
सर्लाहीमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच पटक पटक विवाद चर्केको छ । विवादका क्रममा प्रदेश मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले हवाइ फायर नै गरेका थिए ।
विवादका कारण सर्लाहीका १० वटा वडाको अधिवेशनसमेत गर्न बाँकी छ । प्रदेश २ का ६ निर्वाचन क्षेत्र र केही वडामा चरम विवाद देखिएकाले तत्कालै प्रतिनिधि चयन गर्ने अवस्था छैन ।
कांग्रेसले प्रदेश अधिवेशन प्रभावित हुने भन्दै १६ जिल्लाको जिल्ला अधिवेशन स्थगन गरेको छ ।
मंसिर २४ देखि २६ सम्म काठमाडौं कांग्रेसले महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।
