नेपाली जनसम्पर्क समिति अमेरिका
धर्मराएका ‘धनञ्जय’

धर्मराएका ‘धनञ्जय’


  • 8.5K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    धर्मराएका ‘धनञ्जय’

    तेस्राे आँखा, डेस्क 

    images

    काठमाडौं, १९ मंसिर । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट (गोरख) कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएपछि उनले पार्टीको विधानतः समितिको सभापति पद छाड्नु पर्ने थियो ।

    पार्टी विधानमा उपल्लो पदमा नियुक्त भइसकेपछि तल्लो तहको पद छाड्नु पर्ने उल्लेख छ तर पार्टी सभापति शेरबहादुर देउवाको निकटस्थताका कारण बिष्टले सभापति पद छोड्नु परेन । सन् २०१४ मा निर्वाचित भएका उनको कार्यकाल २०१७ मै सकिइसकेको छ ।

    सम्पर्क समितिका एक केन्द्रीय सदस्यले भने– ‘उहाँलाई शेरबहादुर देउवाको आशिर्वादले सभापति पदमा टाँसिइरहने मौका दिएको हो ।’

    आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भइसक्दा पनि सम्पर्क समितिको सभापति पद नछाडेपछि वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसी रुष्ट बने । अनि समितिभित्र छुट्टै गुट निर्माणमा लागे ।

    झण्डै ५ सय संख्याका सदस्यको गुट निर्माण गरेका केसीले समानान्तर समिति निर्माण गरिदिए । ‘उहाँ समितिभित्रै लड्नु पथ्र्यो, बिष्टलाई सभपति पदबाट मुक्त गर्नका लागि पार्टीभित्र संघर्ष गर्नुपथ्र्यो,’ ती सदस्यले भने– ‘तर उहाँले सिधै अर्को समानान्तर समिति निर्माण गर्नुभयो ।’

    बिष्ट नेतृत्वको सम्पर्क समितिसँग समानान्तररुपमा निर्माण भएको केसी नेतृत्वको समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन केसी समूह पार्टी नेतृत्वसमक्ष लागिपर्यो तर देउवाले केसी नेतृत्वको समितिलाई आधिकारिकता दिन मानेनन्, आधिकारिक समिति उनै बिष्ट नेतृत्वकै थियो ।

    पार्टीले आधिकारिकता नदिएपछि नजिकिँदै गरेको एनआरएनको निर्वाचनले आफ्नो समितिमा अर्को विभाजन ल्याउने आशंका समितिका सदस्यहरुले गरिरहेका थिए ।

    फलतः, पुरानै समितिमा गाभेर ‘सेफ ल्याण्ड’ गर्ने कि भन्ने सुझाव केसीलाई सदस्यहरुलाई दिए तर यो प्रस्तावले मूर्तरुप पनि पाएन, एनआरएनको चुनाव आयो ।

    चार महिना अघि भएको एनआरएन अमेरिकाको निर्वाचनमा श्रीराम थापा १४ स्टेटको कोषाध्यक्षको उम्मेदवार बने । थापा केसी समूहकै सदस्य थिए तर केसीले थापाविरुद्ध अर्का उम्मेदवार खडा गरिदिए ।

    ‘उहाँ (धनञ्जय केसी) ले आफ्नै समूहका थापाविरुद्ध अर्को उम्मेदवार खडा गरिदिनु भयो,’ ती सदस्यले भने– ‘उहाँले हामीसँग कुनै सल्लाह नै गर्नुभएन तर आफ्नै समूहका सदस्यविरुद्ध खुलेआम विरोधमा लाग्नुभयो ।’

    अन्ततः केसीका उम्मेदवार पराजित भए, थापाले बाजी मारे । आफ्नो हारको बदला लिने निर्णयमा केसी पुगे । आफ्नै समूहका सदस्यसँग बदला लिन केसी उनै बिष्टको शरणमा पुगे ।

    ‘हामीलाई हारको बदला लिनका लागि केसी बिष्टको शरणमा पुग्नुभयो,’ ती सदस्यले भने– ‘जबकि बिष्टसँग रुष्ट बनेर हामीलाई समेत समेटेर विरोधमा रहनुभएको थियो तर उहाँ आफैं फेरि बिष्टकै पाउमा ढोग लाग्न पुग्नुले उहाँको राजनीतिक हैसियत प्रष्ट पारिदियो ।’

    आफ्नै समूहका सदस्यहरुको खिलाफमा आनन्द बिष्टको शरणमा पुगेका केसी बिष्टका ठूला सहयोगी बनिदिएका छन् । उनै केसीसँगको साँठगाँठमा बिष्टले जनसम्पर्क समितिको अधिवेशन नेपाली समय अनुसार आज आइतबार बेलुका आह्वान गरेका छन् ।

    भर्चुअल माध्यमबाट हुने अधिवेशन एक दिन अघिमात्रै घोषणा गरिनुले उनीहरु आफ्नो समूहलाई मात्रै प्रतिनिधि चयन गर्ने नियतमा लागेको ती सदस्यले बताए ।

    ‘एक हप्ता अगाडि अधिवेशनको मिति तय हुन्थ्यो भने हामीले उहाँहरुलाई उठ्नै नसक्ने गरी हराउँथ्यौँ,’ ती सदस्यले भने ‘तर उहाँहरुको एकल राज गर्ने मनसायकै साथ एक दिन अघिमात्रै अधिवेशनको मिति तय गर्नुभएको हो ।’
    अमेरिका स्थित जनसम्पर्क समितिबाट पार्टीको केन्द्रीय महाधिवेशनका लागि १४ जना केन्द्रीय प्रतिनिधि आउने छन् । यी सबै प्रतिनिधि बिष्ट र केसीको स्वेच्छाबाट मात्रै छानिने ती सदस्यले बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाली जनसम्पर्क समिति अमेरिका

  • तेस्रो आँखा