काठमाडाैं,१२ असार । वर्षा लागेसँगै पछिल्लाे केही दिनयता काठमाडौँमा हैजाका जीवाणु भेटिन थालेका छन् । जीवाणु फैलिएपछि रोकथामका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चासो देखाएको छ । उपत्यका खानेपानी लिमिटेडले प्रभावित क्षेत्रमा ुहाइपर क्लोराइडु वितरण गर्ने भएको छ । प्रभावित क्षेत्रमा उपत्यका खानेपानी लिमिटेडले उपभोक्ता तथा अन्य ग्राहकलाई क्लोराइड वितरण गर्न लागेको हो ।
केही दिन यतादेखि काठमाडौँको बाक्ला बस्ती भएका ठाउँमा हैजाका जीवाणु भेटिएको थियो । जहाँ धारा र जारका खानेपानी प्रयोग गर्नेहरूमा हैजाका संक्रमण फेला परेको थियो । हालसम्म चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, बागबजार, डिल्लीबजार, बालाजु, बल्खुमा हैजाका संक्रमित भेटिएका छन् । हैजाका संक्रमित भेटिएका क्षेत्रमा हाइपर क्लोराइड वितरण गरिने उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले जानकारी दिए । उपत्यका खानेपानी लिमिटेडका ९ शाखाबाट पानी वितरण भइरहेको उनले बताए ।
प्रभावित क्षेत्रमा निस्शुल्क क्लोराइड वितरण गर्ने उपभोक्ता उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । प्रभावित क्षेत्रका मानिसलाई दुई सय एमलु हाइपर क्लोराइड दिनेछौ, राईले भने, १ लिटर पानीमा २ थोपा क्लोराइड हाल्नुपर्छ । क्लोराइड शाखा मार्फत उपभोक्तालाई दिनेछौ । उपभोक्तालाई सुरुमा खानेपानी लिमिटेडले निस्शुल्क वितरण गर्नेछ । उपभोक्ताले आवश्यकता महसुस गरेमा न्यूनतम मूल्य तोकेर क्लोराइड बिक्री गरिने राईको भनाइ छ ।
हाल उपत्यका खानेपानी लिमिटेडले उपभोक्ताको खानेपानी वितरण गर्दा क्लोरिन र ट्रिटमेन्ट गरेर दिने गरेको छ । हैजाको संक्रमण फैलन थालेपछि प्रभावित क्षेत्रमा क्लोराइड प्रयोग गर्न दिइने उनले जानकारी दिए ।काठमाडौँका उपभोक्ताले उपत्यका खानेपानी लिमिटेडको मात्र पानी प्रयोग नगर्ने उनले प्रस्ट पारे । अन्य कम्पनी, जारका पानी र टयाङ्करको पानी प्रयोग गर्नेहरूका लागि क्लोराइड दिने राईले बताए ।
