काठमाडाैं, १३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट राजीनामा दिएका नेकपा एकीकृत समाजवादीका सांसद तथा निवर्तमान मन्त्री कृष्णकुमार श्रेष्ठले आफूले गरेका कामको जनताले मूल्यांकन गर्नुपर्ने बताएका छन्।
आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेका काम हेरेर जनताले मूल्यांकन गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेसँगै आफू निवर्तमान मन्त्री भइसकेको उनले प्रष्ट पारे । ‘मैले यो काम गरेँ भनेर आफूले आफैँलाई नम्बर दिन चाहन्न,’ उनले भने, ‘कार्यकाल सकेर म मन्त्रालयबाट आज बिदा हुँदैछु।’ उनले भने । उनले मन्त्री बन्ने र फिर्ता हुने नियमित प्रक्रिया भएको बताए। एकीकृत समाजवादीले मन्त्री बनाएको र उक्त पार्टीले फिर्ता आउन भनेपछि फिर्ता जानु स्वभाविक भएको उनको भनाइ थियो।
‘अहिले ११ बजे नयाँ मन्त्रीज्यूको सपथ छ। मन्त्रालयका सचिव नयाँ मन्त्रीलाई लिन जानुपर्ने छ,’ उनले भने, ‘कहिले स्वागत कहिले बिदाइ यो नियमित प्रक्रिया हो।’ ‘मेरो काम हेरेर जनताले नम्बर दिनुपर्छ। म आफूले आफूलाई नम्बर दिन रूचाउन्न,’ उनले भने, ‘मलाई जसरी सहयोग गर्नुभयो, नयाँ मन्त्रीलाई पनि सफल बनाउन सहयोग गरिदिनुहोला।’ सचिवको आग्रहअनुसार मन्त्रालयमा आज बिहान बिदाइ कार्यक्रम गरिएको उनले बताए।
‘छोडेर जाँदा नरमाइलो लागेको छ कि भन्नुहोला, लागेको छैन,’ उनले भने, ‘एउटा पनि काम तथा निर्णय बिबादरहित रहे। आठ महिना २१ दिन मन्त्री भएर काम गरे। सांसद छु फेरि मन्त्री हुन सक्छु। फेरि चुनाव जित्न सक्छु।’ उनले भने, ‘मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’ उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए । आफूपछि आउने मन्त्रीलाई सहयोग गर्न कर्मचारीलाई उनले आग्रह गरे । ‘अब आउने पनि हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ, उहाँलाई पनि मलाई जस्तै सहयोग गर्नुहोला,’ श्रेष्ठले भने, ‘यदि मसित कसैको चित्त दुखेको भए आजदेखि सबै भुलिदिनुहोला ।’
