काठमाडाैं, १३ असार । महिला नेताहरुका आवाजलाई सञ्चार माध्यामले महत्वकासाथ स्थान नदिएको महिला संसदहरुले गुनासो गरेका छन् । सामुदायिक सूचना नेटवर्क (सिआइएन) ले गरेको सञ्चार माध्याम र सामाजिक सञ्जालमा महिला सांसदहरुको पहुँच र चुनौति विषयक अन्तरक्रियामा सांसदहरुले मिडियाहरुले महिलाहरुलाई नेताका रुपमा प्राथमिकताकासाथ नमान्ने गरेको बताएका हुन् ।
समाजिक संरचनामा कमजोर भएकै कारण दलहरुले क्षमता भएका महिलालाई कम भूमिमा दिने र कम क्षमता भएका पुरुषहरुलाई पनि उपल्लो भूमिका दिने गरेका कारणले महिलाहरु प्रचारमा आउन नसकेको महिला नेताहरुको भनाइ छ । नेपाली कांग्रेसलकी सांसद लक्ष्मी परियालेरले महिलाहरुको नेतृत्व विकासका लागि सञ्चार माध्यामले महिला सांसद तथा नेताहरुलाई महत्वपूर्ण स्थान दिइनु पर्ने बताइन् । उनले भनीन,‘हाम्रो समाजिक संरचना अनुसार पुरुषहरुनै हो नेतृत्व भन्ने सोचमा मिडयाहरु लागेको पाइन्छ, र महिलाहरुलाई नेताका रुपमा अझैसम्म नमान्ने अवस्था रहिरहेको छ ।’
महिलाहरुले सामाजिक सञ्जालमा उठाएका विषलाई मिडियाहरुले वेपास्ता गरेको र सेलिब्रेटीहरुलाई बढी खोज्ने गरेको उनले गुनासो गरिन । समाजिक सञ्जालप्रयोग गर्ने महिला सांसदहरु कम रहेको भन्दै कतिपय विषयमा मिडियालाई आवश्यक सूचनाहरु दिने पहुँचमा महिलाहरु नभएकाले पनि महिलाहरुको मिडियामा पहुँच कम भएको परियारको भनाइ छ । केही सेलिब्रेटी सांसद र पार्टी भन्दा बाहिर गएर बोल्नेहरुको आवाज भाईरल बन्ने गरेको भन्दै महिलाहरुले त्यस्तो गर्न नसक्ने उनले बताइन् । मिडयाले हरेक विषयमा आफूहरुलाई नसोधेको उनको गुनासो छ ।
सूचना दिने कुरामा पार्टीको अनुसाशनमा बाँधिनु पर्ने परिवेशका कारण भित्री सूचना बाहिर ल्याउन नसकेको एमालेकी सांसद सरिता न्यौपानेले बताईन । उनले ठूला मिडियाहरुले विशेष व्यक्तिहरुलाई मात्रै ठाउँ दिने गरेको गुनासा गरिन । महिला नेताहरुले विभिन्न एजेण्डामा फरक विषय उठाउदा केही चर्चा गरेको पाईएपनि सञ्चार माध्यामहरुले पार्टीका बरिष्ठ नेताहरुलाई बढी महत्व दिने गरेको उनको भनाइ छ ।
संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले हरेक बैठकमा कोरम पुर्याउनका लागि मात्रै महिलाहरुको सहभागिता गराउने र निर्णायक ठाउमा भाग लिन नदिइएका कारण महिलाहरु सूचनाको श्रोतबाट पछि परेको बताइन् । उनले भनीन, ‘पुरुष प्रधान देश भएकाले अझैपनि महिलाहरुलाई राजनीतिक पार्टी र राज्यसंयन्त्रले नै निर्णायक तहमा पुग्न दिइएको छैन् ।’ महिलाहरुको सहभागिता मात्रै हुने तर निर्णायक ठाउमा भाग लिन नपाएका कारण सुचनाको पहुँच बाहिर जानुपरेकाकारण पनि महिलाको पहुँच मिडियामा कम भएको उनकाे भनाइ छ ।
कतिपय जेन्यून इश्यूहरुमा समेत महिलोले बोलेको कुरालाई मिडियाहरुको प्रथमिकतामा नपरेको उनले गुनासाे गरिन । पार्टीहरुले उचित जिम्मेवारी र प्रशिक्षण नदिएका कारण पनि महिला नेताहरु मिडियालाई आवश्यक सूचनाबाट टाढा रहेकाले मिडियासँग पनि नजिक हुन नसकेको बताइन् । महिलाहरु प्रविधिमैत्री समेत हुन नसकेको स्वीकार गर्दै उनले पार्टीहरुले र राज्यले नै अझै विभेदकारि नीति लिएको बताइन् ।
नेकपा माओवादी केन्द्र सांसद पूर्व मन्त्री रेखा शर्माले मिडियाहरुले महिलाहरुको कुरा उठाइरहेपनि प्रभावकारी नदेखिएको र समग्र महिला राजनीतिकर्मीहरुको प्रभावकारिता नागरिस्तरमा कम देखिएको बताइन् । सांसद भनेको नीति निर्माण गर्ने हो, कि विकास गर्ने पद हो भन्ने समेत अझै छुट्टीन नसकेको शर्माको भनाई छ । महिला नेताहरूलाइ सामाजिक संरचनाका कारण कतिपय अप्ठ्याराहरूकाबीच अघिबढ्नु पर्ने परिस्थिति भएका कारण सञ्चार माध्यामहरूसँगकाे पहुँच कमि भएकाे बताइन् । मिडियाहरूले वायस गरेकाे अनुभूति आफूसाग नरहेकाे उनकाे भनाइ छ ।
पत्रकार मोदनाथ ढकालले महिलाहरु लेख्ने र बोल्ने कम भएको बताए । पत्रकारले जहिलेपनि आधिकारिक आवाज हो कि हैन ? भन्ने सूचना खोज्ने भएकाले महिलाहरुले आधिकारिक आवाज दिन सक्नु पर्ने धारण राखे ।पत्रकारहरु सूचनाको सहज पहुँचको खोजीमा हुने हुँदा महिला सांसद तथा नेताहरुले आधिकारिक सूचना सहित मिडियामैत्री र सूचना मैत्री हुनु पर्ने बताए । उनले महिला सांसदहरुलाई सामाजिक सञ्जालमा मात्रै भएपनि समसामयिक विचार व्यक्त गरिरहन सुझाव दिए ।
विकास पत्रकारिता गर्ने सञ्चार माध्यामले समावेशीताको लागि मात्रै सबैको आवाज समेट्ने गरेको भन्दै राजनीतिक,आर्थिक र समसामयिक विषयमा समाचार लेख्ने पत्रकारहरुले जसले सहज र आधिकारिक सूचना दिन्छ उसैलाई स्रोत मान्ने चलन रहेको सहभािग पत्रकारहरूले बताए । महिला नेताहरु सूचना स्रोतको हिसावले कमजोर र ढिला हुने समस्याका कारण मिडियाले कम प्राथमिकतामा राखेकाे हुनसक्ने भन्दै महिला नेताहरू अध्ययनशिल, सूचनासँग सहज पहुँच राख्ने र अरूभन्दा छिटाे सूचना प्रबाह गर्न सक्ने, मिडयामैत्री हुन सक्नुपर्ने पत्रकारहरूकाे सुझाव छ ।
