काठमाडौं, १५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरेका छनख् ।
विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे । उनले साना(साना पसल थापेर लडाइँ जित्न नसकिने भन्दै जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई प्रचण्डको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको बताए । उनले ओम प्रकाश पुन लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किंदा अन्यलाई राम्रो सन्देश गएको बताउँदै उनले भने ‘वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक छ ।’
क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को नियतप्रति आफ्नो शंका नभएको तर चाहनाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ । ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ प्रचण्डले भने, ‘तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन, सही विचारमा लाखौं जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो ।’ सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने
प्रचण्डले भने, ‘अब जनता पनि आजित भए । अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि आखिर चुनाव नै हो, प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नआउने भन्ने देखियो । क्रान्ति हुन्छ कि अरुबाट भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ । प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ ।’ अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको जनक्रान्तिमा ज्यान गुमाएकाहरूको जिम्मेवारी पनि आफूले लिने भन्दै अब माओवादी आन्दोलनको पुनः एकीकरण कसैले रोक्न नसक्ने दाबी गरे । उनले अहिले व्यक्तिहरू आइरहेको र चाँडै नै संस्थागत एकीकरण पनि अघि बढ्ने बताए ।
