काठमाडौं, १५ असार । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बाढीका कारण ठूलो मात्रामा हुने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक आपतकालिन र दीर्घकालिन तयारी थाल्न सरकारसँग माग गरेकी छिन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै बरालले हरेक वर्ष बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताउँदै पुर्व तयारीको अभाव, तत्काल राहत र उद्दार सामाग्री एवम् जनशक्तिको व्यवस्थापन गर्न नसक्ने सरकारी संयन्त्रका कारण जनताले भोग्नुपर्ने कष्ट अन्त्यका लागि तयार रहन नेपाल सरकार समक्ष माग गरेकी हुन् ।
वर्षेनि तराईका भु–भागहरु डुवान पर्ने गरेको उल्लेख गर्दै उनले सरकारले बेलैमा कुटनीतिक पहल गरी कोशी, गण्डकी र महाकाली ब्यारेजलाई खोल्न आवश्यक पहल गर्न माग गरेकी छिन् । त्यस्तै देशभरिका जिल्लाहरुमा रहेको दैविक प्रकोप उद्दार संयन्त्रको बैठक राखी भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि आवश्यक आपतकालिन र दीर्घकालिन तयारी थाल्न निर्देशन जारी गर्न पनि उनले सरकारसँग माग गरेकी छिन् ।
अध्यक्ष बरालले प्राकृतिक प्रकोपहरुका कारण पीडामा रहेका आम नागरिकहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्काल क्रियाशील रहन एवम् सम्भावित जोखिम न्यूनीकरणका लागि समेत राहत र उद्दारका लागि तयारी अवस्थामा रहन देशभरका अनेरास्ववियुका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आह्वान गरेकी छिन् ।

