काठमाडौं, १६ असार । नवगठित पार्टी नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
वामपन्थी एकताको अभियान सञ्चालन गर्ने बताउँदै आएका गौतमले ओलीसँग भेट्न बुधबार बालकोट पुगेका हुन् । हाल ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड-माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।
‘त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लाग्नुभयो । अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन्’, ओलीको भनाइ थियो । गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् ।
