काठमाडौं, २० मंसिर । अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपालले प्रष्ट धारणा राख्नेपर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे निर्णय गर्न ढिलाइ भएकाले अब प्रष्ट धारणा राख्नुपर्ने बताएका हुन् । एमसीसीबारे नेपाल अलमलिएकाे खत्रीकाे भनाइ छ ।
त्यस्तै, उनले नेपाल र अमेरिका दुबै तर्फको गल्तीका कारण एमसीसीलाई इन्डो प्यासिफिकसँग जोडेर हेरिएको बताए ।
बैठकमा खत्रीले नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्ने बताए। खत्रीले अमेरिकाले नेपालको भुराजनीति बुझ्नुपर्ने धारणा राखे।
'असंलग्न परराष्ट्र नीति अमेरिकालाई बुझाउनुपर्नेछ,' उनले भने 'एमसीसी इण्डोप्यासिफिक रणनीति मिसाएर हेरिएको छ । यो केही गलत धारणा छ । दुबै तर्फबाट गलत बुझाइ छ।'
बैठकमा खत्रीले बाेलेकाे बाँकि अंश :
नेपालको पनि गल्ती छ । संसदबाट एमसीसी पास गर्ने प्रावधान राखियो । यसले अब बीआरआई लगायत सबै परियोजना संसदबाट जानुपर्ने बुझाइ भयो ।
अमेरिकाको पनि गल्ती छ । अमेरिकी रक्षा सहायक मन्त्री नेपाल आएर इण्डोप्यासिफिक रणनीति हो भनिदिनुभयो । यसले पनि भ्रम भयो । अस्ति अमेरिकी विदेश सहायक मन्त्रीले पनि रियालायज गर्नुभयो । एमसीसीमा अमेरिकामात्र होइन नेपालको पनि पैसा छ ।
एमसीसीमा ढिलाइ भएको छ । राख्ने नराख्ने निर्णय गर्नुपर्छ । हालै जवाफमा एमसीसी संविधानमाथि होइन, इण्डोप्यासेफिक रणनीति पनि होइन, बौद्धिक सम्पत्तिमा पनि नेपालको हक लाग्छ, महालेखा परीक्षण नेपालले गर्न सक्छ भनेको छ ।
मैले देखेको यो विषय केही हदसम्म यो दलबीचमा र देशभित्र कन्ट्रोभर्सीमा अलमलियो । मेरो भनाइ के हो भने लिने हो लिनुपर्छ र नलिने हो नलिने भन्नुपर्छ । निर्णय दिनुपर्छ ।
तर, कारण नखुलाई रिजेक्ट गर्ने हो भने अरू देशबाट पनि वैदेशिक सहायता आउने कुरामा प्रश्न उठ्न सक्छ । विश्वासमा प्रश्न आउला कि भन्ने मेरो बुझाइ हो । तर, निर्णय गर्ने सरकारले हो, अनुमोदन संसदले गर्ने हो । त्यसकारण ठूलो रकमको परियोजना लिन नेपालीहरू बृहत् छलफल गरेर क्लियर हुनुपर्छ ।
स्टेज भिजिट पनि शून्य छ । अमेरिकाको राष्ट्रपति आएको छैन, उपराष्ट्रपति पनि ५० वर्ष भइसकेको छ । नेपालबाट पनि भिजिट नभएको, द्विपक्षीय भ्रमण आदान प्रदान बढाउनुपर्छ । मेरो पहल रहन्छ । सन् १९८३ मा भएको रहेछ, वीरेन्द्रको लास्ट टाइम राजकीय भ्रमण भयो । सहाना प्रधान र केपी ओली कार्यक्रम भिजिटमा गएका रहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजी जानुभएको रहेछ । भ्रमणलाई निरन्तरता दिन प्रयास हुनुपर्छ । अमेरिकाले लामो समयदेखि सहयोग गरेको छ । त्यसलाई अगाडि बढाउनुपर्छ ।
अमेरिकी लगानी आएको छ । तर, जुन लगानी साउथ एसियामा अरू देशमा भएको त्यो स्तरको छैन, बढाउन पहल गर्छु । अमेरिकामा राम्रो गरेका नेपालीसँग समन्वय राजदुतावासले गरेर नेपालको हितमा प्रयोगका लागि प्रयास गर्छ ।
