धनगढी,२० असार । आइतबार दिउँसो १२ः ४० बजे सेती प्रादेशिक अस्पतालको अल्ट्रासाउन्ड विभाग अगाडि कारुणिक दृश्य देखियो । अल्ट्रासाउन्ड गर्ने कोठाबाहिर एक सेवाग्राही महिला चिकित्सकको बाटो कुर्दै थिइन्। कञ्चनपुर घर बताउने ती महिलाको नाम तारा सुनार हो । अल्ट्रासाउन्ड विभागको ढोका भने खुला थियो। दुई जना स्वास्थ्यकर्मी कोठामा थिए। त्यही भएर पनि तारालाई डाक्टर आउँछन् कि भन्ने आस थियो। उनले आँखाबाट आँसु झार्दै डाक्टर नै नभेटेको गुनासो गरिन्। हामी टाढाबाट आएका छौं। सधै आउन सकिन्न। गाडि भाडा पनि हुन्न। अहिले यहाँ डाक्टर छैनन् भोलि आउनु भनेका छन्न उनले भनिन्।
उता अल्ट्रासाउन्ड विभागमा काम गर्ने चिकित्सक होम प्रसाद पन्त भने १२ः ४५ बजेको समयमा अस्पताल अगाडिकै एक निजी स्वास्थ्य संस्थामा बिरामी हेर्न व्यस्त थिए। अल्ट्रासाउन्ड गर्ने अन्य दुई डाक्टर निरज अर्याल र विनय अधिकारी पनि अस्पतालमा थिएनन् ।
कञ्चनपुरको पुर्नवास नगरपालिकाकी मिना विक पनि आइतबार उपचार सेवा लिनका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगिन्। टिकटघरबाट टिकट लिएर ओपिडी सेवा लिएकी मिनाले अल्ट्रासाउन्ड पनि गर्नुपर्ने थियो। उनी दिउँसो १२ बजेको समयमा अल्ट्रासाउन्ड गर्न सम्बन्धित विभागमा पुगिन्। तर अल्ट्रासाउन्ड विभागको जिम्मेवारी पाएका तीनै जना चिकित्सकमध्ये एक जना पनि त्यहाँ उपस्थित थिएनन्।
सेतीमा काम गर्ने चिकित्सकहरुको कार्यालय समय बिहान १० देखि ३ बजेसम्म हो। तर १२ बजेपछि चिकित्सकहरु निजी स्वास्थ्य संस्थामा भेटिने गरेका छन्। अस्पताल प्रशासनले सिण्डिकेट लगाएपछि चिकित्सकहरुलाई मनपरी भएको छ। सेतीबाट सरकारी तलब लिँदै आएका उनीहरु निजी क्लिनिकमा व्यस्त हुने गरेका हुन्। सेतीमा सहज स्वास्थ्य सेवा नपाएपछि बिरामीहरु पनि निजी क्लिनिकमा महंगो उपचार सेवा लिन बाध्य छन्।
