काठमाडौं, २० मंसिर । आकांक्षी धेरै भएपछि सकसमा परेका कांग्रेस नेता रामचन्द्र पौडेलले साझा नेतृत्व चयनका प्रयास स्वरुप बैठक बोलाएका छन् । आसन्न १४ औं महाधिवेशनको उद्घाटन मिति आउन ४ दिनमात्रै बाँकी रहेका समयमा पौडेलले सहमतिको प्रयास गर्न आफूपक्षीय नेताहरु शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालाई छलफलमा डाकेका हुन ।
अहिले नेताहरुबीच पौडेल निवास बोहराटारमा छलफल भइरहेको पौडेलका सहयोगी चिन्तन पौडेलले बताए । यसअघि साझा उम्मेदवार चयन गर्ने घोषणा गरेका पौडेलले अहिलेसम्म टुंगो लगाउन सकेका छैनन् ।
आगामी नेतृत्वको दावी गर्ने नेताहरुको संख्या धेरै भएपछि पौडेललाई सकस परेको छ । उनले यसअघिको छलफलमा आफूलाई एक वर्षका लागि नेतृत्व सुम्पिन आग्रह गरेका थिए । उनले देशमा हुने तीन तहको निर्वाचन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने भन्दै सिंहसँग यसअघि आग्रह गरेका थिए । संस्थापन इतरपक्षमा देखिएका अधिकांश नेताहरुले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरिसकेका छन् ।
१३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा यस पटक संस्थापनइतर पक्षमा देखिएका छन् । उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । नेताहरुको बैठकमा अहिलेसम्म भएका अधिवेशनको समिक्षा, आगामी रणनीति लगाएतका विषयमा छलफल हुनेछ । अहिलेसम्मको अधिवेशनको आँकडा हेर्दा पौडेल पक्ष भन्दा पार्टी सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।
