काठमाडौं,२१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् ।
पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिए ।
पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए । केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल लम्बिएपछि केन्द्रीय समितिको जारी बैठक भोलि दिउँसो १ बजेसम्मलाई स्थगन गरिएको छ ।
