काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । बुधबार दिउँसो युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारको दक्षिणी गेटनजिकै प्रदर्शन गरेका हुन् ।
उनीहरूले कालो कपडा र ‘अर्थमन्त्री राजीनामा दे’ लेखिएको प्लेकाड प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउसमेत गरेको छ । अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
