काठमाडौं, २३ असार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएर राजनीतिक संस्कार देखाएको बताएका छन् ।
आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले बजेट प्रकरण छानविनमा सहयोग गर्ने भन्दै राजीनामा दिएर शर्माले राजनीतिक संस्कार देखाएको बताएका हुन् । यो राम्रो राजनीतिक संस्कारको प्रक्रिया भएको पनि उनले बताए । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘छानबिनको लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । एउटा राजनीतिक कल्चर विकास गर्ने प्रक्रियाको कडी हो ।’ यसलाई कतिपयले माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने गरेको भन्दै प्रचण्डले यसलाई नयाँ तरिकाबाट लान जरुरी रहेको बताए ।
सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको पनि उनको भनाइ छ । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको भनाइ छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । संसदमा राजीनामा दिएको घोषणा गर्दै उनले बजेट प्रकरणमा छानविनका लागि बनाइएको संसदीय समितिलाई सहयोग गर्ने बताएका थिए ।
असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर बिहीबार बसेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ । बिहीबारको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने बताइएको छ । बजेट ल्याउँदा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई समावेश गरेपछि मन्त्री शर्माको चर्को विरोध भएको थियो । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन विशेष समिति गठन गर्ने सहमति भएपछि सुरु भएको संसद्मा बुधबार शर्माले राजीनामा घोषणा गरेका हुन् ।
