काठमाडौं,२४ असार। लोकतान्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन नवौं महाधिशनको तयारी तिब्रताका साथ अघि बढेकाे छ । आगामी साउन ६ र ७ गते प्रदेश ३ को राजधानी हेटौडामा हुने महाधिवेशनका लागि व्यवस्थापकिय पक्ष तिब्र हुँदै गर्दा नेतृत्वका आकांक्षीहरू पनि बग्रेल्ती देखिएका छन् । अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् ।
अध्यक्षको दाबी गर्नेहरूमा शिव लम्साल, अनिता विन्दु, सरोज अधिकारी, दामोदर दवाडी, दिपक आचार्य, इश्वरी ओझा, रामप्रसाद दाहाल, सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, रहेका छन् । उम्मेदवारका आकांक्षीहरू टिकटको दाैडमा लागरिहेका छन् ।
संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेका मध्ये अनिता विन्दु र सरोज अधिकारी बलियो दाबेदारी प्रस्तुत गरेका छन भने संस्थापन इतरबाट शिव लम्साल र दिपक आचार्यको बलियोसँग लागेका छन् । पत्रकारका पुराना प्राय सबै नेताहरुले शिव लम्साललाई समर्थन गर्ने सम्भावना बलियो देखिएको छ ।
अध्यक्षको उम्मेदवार घोषणा गरेकी अनिता विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्ष र युनियनको पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । संस्थापन पक्षबाटै दाबी गर्ने अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् । यता, संस्थापनइतरबाट उम्मेदवार घोषणा गरेका पूर्व महासचिव तथा पोखरा महाधिवेशनका अध्यक्षका प्रत्यासी शिव लम्साल देशभरका पत्रकाहरुसँगको नेटवर्कमा निरन्तर क्रियाशिल छन् ।
अध्यक्षका आकांक्षी वरिष्ठ उपाध्यक्ष दीपक आचार्य पनि पुराना नेता हुन् । यस्तै अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् । पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् । उनी पार्टीभित्रको कुनै समूहमा भने देखिएका छैनन् ।
दामोदर दवाडी भने सर्व सहमत बनाएर अध्यक्ष हुनेगरी पार्टी नेताहरुसंग संवाद गरिरहेको बुझिएको छ । वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उपाध्यक्षमा सलोजा दाहाल, दिलिपाश्री अधिकारी, कल्पना शर्मा, ऋषिकान्त पौडेल, जनार्दन घिमिरेलगायतले दाबी गरेका छन् ।
कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्कीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्यत्रय दिलिप पौडेल, रमेश वाग्ले, शिवराज योगी र काठमाडौं शाखाका पूर्व अध्यक्ष नकुल अर्याल महासचिवको उम्मेदवार बन्ने लाइन छन् । कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, विमल ज्ञवालीलगायतले पनि महासचिवको उम्मेदवारी घोषणा गरेका छन् ।
उपमहासचिवमा चारजनाले उम्मेदवारी घोषणा गरेका छन् । युवराज गौतम, भुवन शर्मा,सुलोचना गौतम, कुसुम बिक (सेन्चुरी) उक्त पदका लागि दाबी गरेका छन् । टिम मिलाउदा कतिपय महासचिवका दावेदारहरु उप महासचिवमा बस्नेगरी दावी गरेको हुन सक्ने अनुमान गरिएको छ ।
सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनार लगायतले दाबी घोषण गरिसकेका छन भने दैनि उम्मेदवारी घोषणा गर्नेहरु बढ्दो मात्रामा छन् । कोषाध्यक्षका लागि पदमराज जोशी, माधव धिताल, मित्र भण्डारी, जानुका बराल लगायतले उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् ।
युनियनको महाधिवेशनका लागि सहजीकरण गर्नका लागि पार्टीले प्रवक्ता डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएको छ । नयाँ कार्यसमिति सर्वसहमत बनाउनका लागि बिहीबार महतले अध्यक्षका प्रत्यासीसँग छलफल समेत राखेका थिए । सर्वसहमतिमा नेतृत्व चयन गरि सकरात्मक सन्देश दिने प्रयास भइरहेको वर्तमान अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ । ०७१ भदौमा ८ औं महाधिवेशन पोखरामा भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् । लामो समय सम्म महाधिवेशन हुन नसक्दा जाम भएर बसेका नेताहरु बढी भएपछि विधानमा समेत २९ पदाधिकारी सहति १ सय ७ जनाको कार्यसमिति बनाउने व्यवस्था गरेको विधान मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए ।
कतिपय जिल्ला अध्यक्षहरु समेत अधिवेशन गरेको ४ देखि ६ वर्ष भइसकेका कारण केन्द्रीय समितिमा आउने आकांक्षा राखेका छन् । उनीहरुका लागि विधानमा रोक लगाउन नहुँने अधिकांशको भनाइ छ । केही नेताहरुले टिम व्यवस्थापन गर्न नसक्ने भन्दै जिल्ला अध्यक्षहरुलाई रोक लगाउन खोजेको बुझिएको छ ।
तर लोकतान्त्री संगठनमा निर्वाचनमा भाग लिन पाउनु पर्ने भन्दै जिल्ला अध्यक्ष तथा केन्द्रीय स्तरका बहुमत नेताहरुले सबैलाई चुनावी मैदानमा जान बन्देज लगाउनु नहुँने बताएका छन् । हालसम्म ललितपुर अध्यक्ष जानुका बराल,ओखलढुंगा अध्यक्ष जीवन शर्मा र सुनसरी अध्यक्ष पवन अधिकारीले जिल्ला अध्यक्ष छाडेर केन्द्रीय समितिमा चुनाव उठ्ने तयारीमा लागेकाे बताएका छन् । निकै लामो समय महाधिवेशन नहुँदा युनियनको केन्द्रीय समितिमा आउन चाहानेहरुको लर्को लाग्ने देखिन्छ ।
