काठमाडाैं,२५ असार । नयाँ शैक्षिक सत्र सुरु भएको ३ महिनामा समेत सामुदायिक वद्यिालयका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छनैनन् । देशभरका ८० लाख विद्यार्थीले पाठ्यपुस्तक अभाव खेप्नु परेको छ । पहिलो त्रैमासिक परीक्षा भैसक्दा समेत देशभरका विद्यार्थीहरुले पूर्ण रुपमा पाठ्यपुस्तक पाउन नसक्दा उनीहरुको पढाई प्रभावित बनेको छ ।
पाठ्यपुस्तक मुद्रणको जिम्मा रहेको जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त भएका कारण समयमा पाठ्यपुस्तक छाप्न असमर्थ हुँदा देशभर पाठ्यपुस्तकको अभाव भएको हो । वैशाख ३० गतेको चुनावका लागि निर्वाचन आयोगले चैत महिनादेखि नै नमुना मतपत्र छाप्दै जनक शिक्षाको प्रेस होल्ड गर्न सुरु गर्यो । जसका कारण पाठ्यपुस्तक छाप्ने काममा अवरोध हुन पुग्यो ।
राजधानी काठमाडौंदेखि ७७ वटै जिल्लाका विद्यालयमा केही विषयका पाठ्यपुस्तक अझै पुग्न सकेका छैनन् । विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा सुरु हुनै लाग्दा विद्यार्थीहरुले कसरी परीक्षा दिन्छन् भन्नेमा न सरकारलाई चिन्ता छ, न निर्वाचन आयोग न त जनक शिक्षालाई नै । निर्वाचन आयोगका एक पूर्व कर्मचारी भन्छन्, ‘आयोगले कमिसनको चक्करमा नलागी आफ्नै मेसिनबाट मतपत्र छपाई गरेको भए एकातिर जनक शिक्षा र निजी छापाखानालाई दिएको करोडौँ पैसा जोगिन्थ्यो भने अर्कोतिर विद्यालयले समयमा पाठ्यपुस्तक पाउँथे ।’
सरकारले कक्षा १ देखि ३ सम्म निजी क्षेत्रबाट र कक्षा ४ देखि १० कक्षासम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रमार्फत छाप्न जिम्मेवारी दिएको छ । निजी क्षेत्रले छापेर स्कुलमा पुर्याए पनि जनक शिक्षाले भने समयमै पुस्तक छाप्न नसकेपछि यो वर्षको बालबालिकाको पढाइमा असर पुगेको छ ।
