रूपन्देही, २५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सम्भव भएको बताउँदै त्यो कुरालाई कांग्रेसले ध्यान दिनु जरूरी रहेको बताएका छन् ।
बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा नेता नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने दाबी गरे।
‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक(हिरिक हुने मान्छे होइनु, उनले भने। नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई व्युँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको बताए।‘नेपालको राजनीतिक परिवर्तनमा बामपन्थी शक्तिको ठूलो हात रहेको छ, त्यसैले ती शक्तिलाई छिन्नभिन्न हुन नदिन केही गर्न सकिन्छ कि भन्ने छलफल भएको छ त्यो निरन्तर चलिरहन्छ’, उनले भने।
बामपन्थी एक हुन खोज्दा कांग्रेस तर्सिने अवस्था रहेको बताउँदै उनले त्यो हुनु आवश्यक नभएको बताए। नेपालले स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्म गठबन्धन हुन नसक्दा आफूहरूलाई धेरै लाभ नभए पनि पाँच दलीय गठबन्धन मिलेर जानुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए।
