तुलसीपुर, २८ असार । नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्राबास भवन जिर्ण बन्दै गएको छ । छात्राबासमा मानिसको बसोबासजस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ शुन्य छ । भवन समेत भत्किन थालेको जस्तै देखिन्छ ।
छात्राबासको बाहिरी आवरण जस्तो देखिन्छ भित्र पनि त्यस्तै छ । पुराना भवन, त्यसमा पनि सुत्ने खाट पुराना छन् । हावाहुरी चल्दा भित्रै धुलो पस्ने अवस्था छ । त्यहाँ बस्ने विद्यार्थी पनि डराइडराइ बस्नुपर्ने अवस्था छ । “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ”, विद्यार्थी उद्धव पोखरेलले भन्नुभयो ।
नयाँ भवन बन्न लागेको भनी आफूहरूलाई जानकारी आएकाले त्यही अनुसार अहिले पुरानै भवनमा भए पनि गुजारा चलाउने गरेको धर्मशास्त्र तेस्रो वर्षमा अध्ययनरत उमेश उपाध्यायले बताए । दैलेख निवासी उमेश सात वर्षदेखि त्यही भवनमा बस्दै आएका छन् । लामो समयदेखि एउटै भवनमा बस्दै आएकाले उक्त संरचना भने जीर्ण हुँदा डर लाग्ने गरेको बताउउछँन । “म सात वर्षदेखि यहाँ बस्दै आएको छु”, उनले भने, “लामो समयदेखि बसेकाले होला, यसलाई सामान्य लाग्ने गरेको छ, तर भवन निकै जीर्ण छन्, जसोतसो गुजारा चलाइएको छ ।”
विसं २०४९ तिर उक्त छात्राबास भवन निर्माण भएको हो । लगभग ३० वर्ष पुगिसकेको त्यो भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । आफूहरु बस्दा भवन राम्रै भए पनि अहिले आएर भवन निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताउँछन् । विसं २०५५ देखि २०६२ सम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन उनी भन्छन, “यो बीचमा भवन पनि राम्रै थिए, तर अहिले आएर हेर्दा भवन पनि भत्केलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।”
त्यहाँ भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भने अघि बढेको विद्यापीठका प्राचार्य योगराज शर्माले जानकारी दिए। “भवन धेरै पुरानो भइसकेको छ, निकै जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने गरी हामीले छलफल गरिरहेका छौँ”, उनले भने, “हामीले कुनै दुर्घटना नहोस् भनेर प्राविधिकलाई पनि देखाएका छौँ ।”
