काठमाडौं, २८ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । जसमा उनले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न ७ बुँदामा समस्याहरू देखाएका छन् । जसका कारण पार्टी पुनर्गठनको निर्णयमा पुग्नुपरेको उनले उल्लेख गरेका छन् ।
बाबुरामले यादवमा वैचारिक, संगठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नताजस्ता समस्या देखिएको आरोप लगाएका छन् । उनले छलफलका लागि आफूहरूसँग दुई वटा विकल्प रहेको बताएका छन्। ‘छलफलका लागि हाम्रा सामु दुई विकल्प हुन सक्दछन। एक( नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई(विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने’, उनले भने।
‘पार्टीको कानूनी बैधता निरूपण गर्ने आफ्नै प्रक्रिया छ। त्यो काम निर्वाचन आयोग गर्दै गर्ला। पार्टीको आधिकारिक बैधता हामीसँग रहेको वा नरहेको दुबै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक बैधता भने हामीसँग हुनेछ। समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय थियो। त्यो ध्येयबाट हामी किञ्चित विमुख भएका छैनौं। हुने पनि छैनौं’, प्रतिवेदनमा अगाडि भनिएको छ।
‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ। पार्टी पुनर्गठन के कसरी गर्ने रु यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो। तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहंगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु’, उनले भनेका छन्। बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा-पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने छौं। सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिय पूरा हुनेछ।



















