काठमाडाैं,२८ असार । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको उपसभामुख पद २०७६ सालको माघ महिनादेखि रिक्त रहेको छ । २०७६ साल माघ ६ गते उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएदेखि रिक्त रहेको उपसभामुख पद दलहरुको राजनीतिक भागबण्डाको किचलोको कारणले हालसम्म पदपूर्ति हुन सकेको छैन । संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।
सोहि धाराको उपधारा तीनमा सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गरि पदपूर्ति गर्ने व्यवस्था छ । सोहि धाराको उपधारा दुईमा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरेको छ । साथै सोहि उपधारामा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।
मुख्यतया यहि व्यवस्थाको कारण दलहरु उपसभामुखको पदपूर्तिमा अनुदार देखिने गरेका छन् । संविधानको व्यवस्था अनुसार सबै पदाधिकारी पदपूर्ति गर्नुपर्ने हो । तर यसलाई दलहरु राजनीतिक स्वार्थको दाउ हेरेर बसको देखिन्छ । फरक राजनीतिक दल र दुई पदमध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले महिलालाई पदमा ल्याउन दलहरुले आनाकानी गरेको आरोप पनि दलहरुमाथि लाग्दै आएको छ । विभिन्न समयमा कतिपय सांसदहरुले उपसभामुख र उपाध्यक्ष बनाउँनु पर्ने र त्यसो हुन नसक्दा उक्त पदलाई नै खारेज गर्न समेत सुझाव दिदै आएका छन् ।
केहि समय अघि सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजी गर्न माग गरेका थिए । लामो समय देखि उपसभामुख पद रिक्त रहँदा समेत राजनीतिक दलहरु मौन बसको भन्दै उनले सो पद खारेजीको माग गरेका थिए । त्यस्तै संसदमा अन्य सांसदहरुले पनि पटकपटक उपसभामुख पदलाई पूर्ति गर्न माग गर्दै आएका छन् तर राजनीतिक दलहरुले यस विषयप्रति चासो देखाएका छैनन् । नेकपाको सरकार हुँदा देखि खोजि भएको उपसभामुख पाँच दलिय सरकार बनेको यतिका समयसम्म पनि पूर्ति हुनसकेको छैन ।
चार महिनादेखि उपाध्यक्ष विहीन राष्ट्रिय सभा
राष्ट्रिय सभाको उपाध्यक्ष पदपनि गएको विगत चार महिना देखि खाली छ । अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना छन् भने उपाध्यक्ष पद चार महिना देखिा रिक्त रहेको छ । प्रतिनिधिसभामा जस्तै यस सभाको अध्यक्ष र उपाध्यक्ष पदमध्यै एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । गएको फागुन २१ गते राष्ट्रिय सभा सदस्यको चार वर्षे अवधि सकिएर उपाध्यक्ष रहेकि शशिकला दाहाल बाहिरिएपछि त्यहाँ देखि राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त रहेको छ । उपाध्यक्ष पदपूर्ति गर्न विभिन्न समयमा आवाज उठ्दै आएको भएपनि राजनीतिक दलहरुले यो विषयमा खासै चासो देखाएका छैनन् ।
महिलाको अधिकार संकुचन
संविधानमै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था रहेको र उपसभामुख र सभामुख मध्ये एक महिला अनिवार्य रहनुपर्ने व्यवस्था छ । त्यस्तै राष्ट्रिय सभाको हकमा पनि यहि व्यवस्था रहेको छ । तत्कालीन सभामुख कृष्ण बहादुर महाराले राजीनामा दिएपछि अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए । नेकपाको सरकार भएको समयमा नै उपसभामुखको विषयमा दलहरुबीच छलफल भएको भएपनि सहमति जुट्न सकेको थिएन । अहिले पाँच दलिय सरकार बनेको भएपनि यस सरकारले पनि यस विषमा खासै चासो देखाएको पाइदैन । केहि दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने चर्चाको समयमा भने लोसपालाई उपसभामुख दिने चर्चा भएको थियो । यस आधारमा पनि उपसभामुख र उपाध्यक्ष पदलाई राजनीतिक स्वार्थको रुपमा राखिएको बताइन्छ ।
यसरी २०७६ साल माघ देखि हालसम्म उपसभामुख पद र गएको फागुन देखि हाल सम्म राष्ट्रिय सभाको उपाध्यक्ष पद खाली रहेको र संविधानले व्यवस्था गरेअनुरुप महिलाको प्रतिनिधित्व नगराइएको भन्दै महिलाको अधिकारलाई संंकुचित गरिएको भन्ने आवाज उठ्न थालेको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले उपसभामुख पद यतिकासमय सम्म खाली हुनु लाजमर्दो भएका बताए । दुई वटा पदमध्य एउटामा महिला अनिवार्य हुनु पर्ने संवैधानिक व्यवस्था भएको बताउँदै गौतमले सदन पुरुषले मात्र चलाएकोले यस्तो कार्यले महिलाको अपमान भएको उल्लेख गरे । उनले महिलाको अधिकारलाई संंकुचित गरिएको भन्दै महिला सांसदले आन्दोलन गर्नुपर्ने सुझाव दिए ।
उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गर्न नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए । ‘संविधानमा नै प्रष्ट रुपमा लेखिएको छ, सभामुख पुरुष भए उपसभामुख महिला हुने वा सभामुख महिला भए उपसभामुख पुरुष हुनेछ भनेर, त्यस्तै व्यवस्था राष्ट्रियसभामा पनि छ’, गौतमले भने, “दुवै सदनमा महिला अनिवार्य भएको पदमा छैनन्, महिला सांसदहरुले यसबारेमा आन्दोलन नै गर्नुपर्ने होइन ?’
आफैले बनाएको कानुन कार्यन्वायन भएन
राजनीतिक विश्लेषक जैनेन्द्र जीवन राजनीतिक भागबण्डामा कुरा नमिलेको कारणले लामोसमय देखि उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको पदपूर्ति हुन नसकेको बताउँछन् । नेपालका राजनीतिक दलहरु सानो पदको लागि पनि मरिहत्ते गर्ने प्रकृतिका भएको कारणले यी पद लामो समयदेखि रिक्त रहेको उनको भनाइ छ । ‘नेताहरु बाहिर ठूलाठूला आदर्शका कुरा गर्छन् । संविधानमा पनि तीनै आदर्शका कुराहरु उनीहरुले लेख्नुभयो’, उनले भने ‘आफूले गरेका ठूला र आदर्शका कुराहरु कार्यान्वयन गर्न सकिन्छ कि सकिदैन भनेर उनीहरु सोच्दैनन् । यसै कारणले गर्दा आफैले बनाएको मापदण्डहरु नेताहरुले पुरा गर्न सक्दैनन् ।
उपसभामुख र उपाध्यक्ष राजनीतिक दलहरुले महिला विरोधी भएर नै ल्याएनन् भन्न नसकिने तर त्यो आशंका गर्ने ठाउँभने प्रयाप्त रहेको उनी बताउँछन् । राजनीतिक दलहरु यसरी उपसभामुखमा महिला नै आउँछन् भनेर नल्याइराख्ने महिलो विरोधि नभएको उनको भनाइ छ । विशेषगरी धेरै दलहरुको आकांक्षा रहेको कारणले भागबण्डामा कुरा नमिल्दा लामो समय देखि यी पदहरु रिक्त रहेको उनी बताउँछन् । यत्तिका समय खाली राखेर अब दुई महिनाको लागि पदपूर्ति गर्दा पनि दलहरुमाथि प्रश्न उठ्ने उनले स्पष्ट पारे । आफैले गरेको व्यवस्थालाई र संविधानमा उल्लेख गरेको व्यवस्थालाई कार्यान्वयन नगरी यसरी खाली राखिनु दलहरुको गैरजिम्मेवारी पन भएको उनको भनाइ छ ।
पदम भुजेल
