• ट्रेण्डिङ्ग :
कांग्रेसकी ‘गुमनाम’ पदाधिकारी

कांग्रेसकी ‘गुमनाम’ पदाधिकारी


  • 7.1K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    कांग्रेसकी ‘गुमनाम’ पदाधिकारी

    तेस्रोआँखा डेस्क

    images

    काठमाडौँ, मंसिर २१ ।  कसैलाई पदाधिकारी बन्न, त कसैलाई केन्द्रीय सदस्य बनेर कांग्रेसको उँचो राजनीतिक हैसियत विस्तार गर्ने दौडमा रहेका कांग्रेसी नेताहरुलाई पार्टीको १४ औँ महाधिवेशनले ढपक्कै छोइसकेको छ । फलतः धमाधम उम्मेदवारी घोषणा गरेर आफूलाई कांग्रेसको ‘काबिल’ नेताको परिचय दिलाउने रस्साकस्सी नेताहरूबीच चलिरहेकै छ ।

    यो रस्साकस्सीमा पार्टीका अधिकांश वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य तथा केन्द्रीय समितिमा प्रवेश गर्न खोजेका कैयन नयाँ अनुहार छन् । तर, एक पदाधिकारी आफ्नो कार्यकालभरि गुमनाम भएरै बसिन्, ६ वर्ष लामो कार्यकालसम्म गुमनाम उनको नाम पार्टीको १४ औँ महाधिवेशनमा पनि उस्तै गुमनाम छ ।

    कांग्रेसकी वर्तमान केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव । न त उनी आफ्नो नाम आफैं चर्चामा ल्याउँछिन्, न त कसैले चर्चामा ल्याइदिन्छन् । गुमनाम पदाधिकारी सीतादेवीले गुमनाम रहेरै आफ्नो कार्यकाल पूरा गर्दैछिन् ।

    तपाईं किन गुमनाम ? उनको सरल जवाफ छ ‘म मिडियामा आउन चाहेन ।’ 

    विक्रम संवत २०७२ सालमा ८ मतको झिनो मतान्तरले जीत दिलाउँदा सीतादेवी यादवको संकल्प भने निकै ठूलो थियो- ‘कांग्रेसलाई सुदृढ बनाउन अहम भूमिका खेल्नेछु ।’

    चित्रलेखा यादवलाई पराजित गर्दै कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव ६ वर्षसम्म कांग्रेसको पदाधिकारी बनेर नेतृत्व तहमा बसिन् । यो अवधिसम्म कांग्रेसको ‘डुंगा’ उनले संकल्प गरेर अनुसार बगिदिएन ।

    उनको बुझाइछ- ‘माझीहरू कतै न कतै अलमलिई रहे ।’ फलतः उनलाई पश्चात्तापले गलाइरहेकै छ । ‘मैले सोचेको अनुसार भएन, पार्टी राम्रो बनाउने जुन सपना देखेको थिएँ त्यो पूरा भएन,’ उनी भन्छिन्- ‘मलाई यसमा पछुतो लाग्छ ।’ 

    पार्टीभित्रको उचो पदमा आसिन रहे पनि सीतादेवीको ‘पार्टी बनाउने’ संकल्पले पार्टी नेतृत्व तहमा कहिल्यै महत्व नै पाएन । अति महत्वपूर्ण निर्णायक प्रकृयामा उनको आवश्यक्ता नेतृत्वले कतिसम्म बोध गर्यो ?

    सीतादेवी यादव केन्द्रीय कार्यसमिति तथा पदाधिकारी बैठकमा बोलाइन्थिन् । उनले यसैलाई पार्टीको निर्णायक प्रकृयामा आफ्नो भूमिका रहेको दाबी त गर्छिन् तर उनको सहिछापमात्र चल्याे, अभिव्यक्तिले कतै कुनै पनि छलफलमा महत्व राखेन ।

    उनको भनाइ छ- ‘म किन बोल्ने ? शेरबहादुर दाइ, रामचन्द्र दाइहरुका अगाडि हामी बोल्ने कुरै भएन नि ।’

    सीतादेवीको यो भनाइले पनि पुष्टि गर्छ कि निर्णय उल्लेख गरिएको कागजमा उनको हस्ताक्षरले मात्रै महत्व राख्थ्यो, न कि उनको धारणा वा सुझावले । 

    पार्टीको १३औँ महाधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार बनेर विजयी भएकी हुन् सीतादेवी यादव । पार्टीभित्रको गुटगत वैचारिक बहसका आधारमा हुने निर्णयमा उनी स्वाभाविकैरूपमा सभापति शेरबहादुर देउवाको नजरमा पर्ने कुरै भएन किनकि देउवाले सीतादेवीको निर्णय पौडेलमाथि नै निर्भर छ भन्ने सहजै बुझ्नु स्वाभाविकै थियो । बरु आफू इतरका अन्य पदाधिकारीहलाई देउवाले निर्णायक प्रकृयामा उचाे महत्व दिए तर कोषाध्यक्ष सीतादेवीलाई उनले नदेखेझैं गरिरहे । सीतादेवी न त संस्थापन इतर समूहबाटै माथि उठ्नै सकिन् । सीतादेवीलाई लाग्छ- ‘बरिष्ठ नेता पौडेल बोलेपछि त्यो नै संस्थापत इतरको सामूहिक निर्णय हो ।’

    त्यसो त, कांग्रेसले सीतादेवीको भूमिकालाई मात्रै होइन, कोषाध्यष पदको महत्व नै देखेन । कोषाध्यक्ष पदको महत्व नै नदेखेको कांग्रेसले त्यही पदमा आसिन सीतादेवीको महत्व कतिसम्म महुशुस गरयो होला ?

    यसबाटै पनि प्रष्ट हुन्छ- कांग्रेसले विधान संशोधन गरेर १४औँ महाधिवेशनदेखि निर्वाचित कोषाध्यक्ष पद नै हटाएको छ । दुई कार्यकाल निर्वाचित कोषाध्यक्ष राखेको कांग्रेसले यो महाधिवेशनदेखि भने निर्वाचित कोषाध्यक्षको प्रावधान हटाएर मनोनित गर्ने प्रावधान राखेको छ । 


    तेस्रो आँखा