काठमाडाैं,३२ असार । ट्रेड युनियन अधिकारका लागि प्रेस युनियनको भूमिका शशक्त हुनुपर्नेमा सरोकारवालाहरुको जोड दिएका छन् । नेपाल प्रेस युनियन ललितपुर शाखाले युनियनको नवौं महाधिवेशनका सन्दर्भमा ट्रेड युनियन अधिकारका लागि प्रेस युनियनको भूमिका बिषयक अन्तरक्रिया यस्तो सुझाव आएको हो । शनिवार कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति ललितपुरमा छलफल आयोजना गरिएको थियो ।
छलफल कार्यक्रममा नवौं महाधिवेशनका प्रतिनिधिहरु (पार्षद) र विभिन्न उम्मेदवारका आकांक्षीहरु सहभागि थिए ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले जिल्ला तहमा नेपाल प्रेस युनियनको भूमिका अझै प्रभावकारी र शशक्त हुनुपर्नेमा जोड दिए । राणाले भने, ‘प्रेस युनियनमा आवद्ध पत्रकारहरुले नेपाली काँग्रेसका गतिविधिहरुलाई सञ्चारमाध्यममार्फत अझै जनतासमक्ष पु¥याउन भूमिका खेल्नुपर्ने छ ।’ यसका साथसाथै नेपाल पत्रकार महासंघ ललितपुरमा समेत प्रेस युनियनमा आवद्ध साथीहरूको उपस्थिति बलियो हुनु आवश्यक रहेको उनको भनाइ छ ।
राणाले जिल्लामा रहेका प्रेस युनियनका पत्रकारहरुलाई आफूले सक्दो सहयोग गर्ने वताए । उनले ललितपुरका ग्रामीण र दुर्गम भेगका गतिविधि र समाचारहरुलाई पनि सञ्चार माध्यममा प्राथमिकताका साथ स्थापित गराउन पत्रकारहरुलाई आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाल प्रेस युनियन नेपाली कांग्रेसको महत्वपूर्ण शुभेच्छुक संस्था भएको वताउँदै पार्टीले निरन्तर रुपमा समन्वय र सहकार्य गर्ने वताए । केन्द्रीय सदस्य बस्नेतले भने, ‘प्रेस युनियन राज्यको चौथो अंगका रुपमा स्थापित पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था हो’, यस्तो महत्त्वपूर्ण संस्थालाई नेपाली कांग्रेसले सधै समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने छ ।’
प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले ट्रेड युनियन अधिकारका लागि साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनले दिशानिर्देश गर्ने वताए । त्यस्तै नेपाल प्रेस युनियनकी उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष वाला अधिकारीले नेपाल प्रेस युनियन ललितपुरको विगतको अवस्थाको चर्चा गर्दै नवौं महाधिवेशनमा ललितपुरबाट उम्मेदवार घोषणा गरेकाहरुलाई विजयका लागि शुभकामना व्यक्त गरिन् ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्य नेपालले नेपाल प्रेस युनियन मात्रै ट्रेड युनियन अधिकारको पक्षमा वकालत गर्ने र लड्ने संस्था भएको वताए । युनियनका साथीहरू महासंघको मुख ताकेर बस्नुपर्ने अवस्था नभएकाे भन्दै नेपालले आइएफजेसंग सिधै सम्पर्क भएको संस्था नै प्रेस युनियन भएको दावी गरे ।
