काठमाडौं, २ साउन । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद् विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् ।
संसद्का गतिविधिलाई लिएर सभामुख सापकोटाले गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए ।“यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,” उनले भने, “मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।” सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको पनि बताए ।
यसबीचमा मन्त्री हेरफेर हुँदा पनि विधेयक पारित हुन नसकेको सभामुख सापकोटाको भनाइ थियो । “यसबीचमा मन्त्री हेरफेरले १/२ विधेयक पास भइसक्थे तर हुन सकेन,” उनले भने । सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ-आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेको थियो । जसका कारण सदनमा सम्बन्धित मन्त्रामन्त्रालयबाट सदनमा पुगेका विधेयक अगाडि बढ्न सकेका थिएनन् । सभामुख सापकोटाले उपसभामुख निर्वाचित भएपछि काम गर्न थप सहज हुने बताए । उपसभामुखमा पुष्पा भुसालले आइतबार मात्रै पदभार सम्हालेकी थिइन् ।
