काठमाडौं, २ साउन। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको छ। पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेश भएको छ ।
शीर्ष नेताहरुसँग सहमति गरेर प्रस्ताव आएकाले यही निर्णय हुने एक नेताले बताए । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गरेको छ। अब आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित हुने भन्दै कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने बताएको छ ।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ। ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ प्रस्तावमा भनिएको छ ।
