काठमाडौं । तीन दिने भारत भ्रमणको रन्को नसेलाउँदै आइतबार नेपाल फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजनीतिमा तरंग सृजना गरेका छन् ।
मंगलबार अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा गरेका दुई भेटवार्ताले लामो समयदेखिको पार्टीहरुका बीचको एकता, चुनावी तालमेल र गठबन्धनको विकल्प प्रष्ट पारेको छ । मंगलबार प्रचण्डले संसदीय दलको कार्यालय सिंहदरवारमा आफ्नै पूर्व सहकर्मी डा. बाबुराम भट्टराईलाई निम्तो दिएर भेटबार्ता गरे ।
मंगलबार अपरान्ह फेरी तत्कालिन नेकपाका बहुमत सचिवालयसदस्यहरुको बीचमा बार्ता भयो । यी दुवै बार्तापछि प्रचण्डले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया पनि दिँदै भने, ‘आज हामी नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरु दोस्रो बैठक बस्यौँ। यसअघि पहिलो बैठक असारमा भएको थियो । मुख्यतः सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय गरेका छन्। गठबन्धन गरेर जाने नै भन्ने भएको छ। त्यसबारे पनि चर्चा गरेका छौँ। गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो। तर यसलाई अझै प्रभावकारी बनाउने भन्ने कुरा भएको छ।’
‘हामी हिजो एकै पार्टीको सचिवालयमा थियौँ। त्यसका बहुमत सदस्यहरु अहिले छलफल गरिरहेका छौँ । हामीबीच पार्टी एकीकणबारेमा कुरा भइरहेको छ। बाबुरामजीसँग पनि आजै पार्टी एकीकरणमै केन्द्रित भएर कुरा भएको छ। अहिले जतिसँग छलफल भएको छ, ती सबैसँग एकै खालको चर्चा गरेका छौँ। हेर्दै जानुहोला सकारात्मक नतिजा आउँछ,’ प्रचण्डले उत्साहित हुँदै भने।
प्रचण्डको यस्तो अभिव्यक्तिले तत्कालिन नेकपामा बहुमत सदस्यहरुबीचको चुनावी गठबन्धन, अहिलेको ५ दलीय गठबन्धनका बीचमा चुनावी तालमेल र जनता समाजवादीसँग फुटेर बसेका डा बाबुराम भट्टराईको पार्टीसँग एकता गर्ने विषयमा छलफल चलिरहेको प्रष्ट भएको छ ।
अहिलेकाे अवस्थामा नेकपा एमालेसँग चुनाव अघि एकता वा तालमेलको कुनै संभावना नरहेकाे र अहिलेको गठबन्धनका बीचको स्थानीय तहको चुनावको अनुभव रहेकाले यसबाट पाठ सिकेर गठबन्धनका बीचमा तालमेल, अझ नजिक रहेका शक्तिहरुबीचको समाजवादी केन्द्र वा अन्य नाममा गठबन्धन र डा. बाबुराम भट्टराईलाई माओवादीमा फर्काउन एकता गर्नेबारे छलफल चलिरहेको माअाेवादी नेताहरू बताउँछन् ।
अहिले नै एकीकृत समाजवादीसँग एकताको संभावना नभएकाे तत्कालिन बहुमत सचिवालय सदस्यको बैठकमा सहभागि एक नेताले बताए । अहिलेकाे समयमा एकता संयोजन समिति बनाएर तयारी गर्ने काम हुनसक्ने तर चुनाव अघि एकता भने संभावना नरहेकाे उनले प्रष्ट पारे ।
नेपाली काँग्रेसँग गठबन्धन नै भनेपछि स्थानीय तहको चुनावमा आवश्यक स्थानमा तलमेल मात्रै हुन गएको तर्क गर्दै संघ र प्रदेशको चुनावमा पनि तालमेल नै गर्ने तर त्यो तालमेललाई थप प्रभावकारी बनाउन मेहनत गर्ने बताइएकाे छ ।
एकीकृत समाजवादी र जनता समाजवादीका बीचमा भने चुनावी गठबन्धन गर्ने तयारी छ । एकीकृत समाजवादीसँग चुनाव भन्दा पछि एकता हुने सम्भावना रहेकाले संयोजन समिति बनाएर मसिनोगरि तयारी गर्ने यी दुई दलबीच समझदारी रहेको एक नेताले बताए ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता संयोजन समिति बनाउने सहमति भईसकेको छ । एक नेताले दिएको जानकारी अनुसार अहिले पनि यी दुवै दलका केही नेताहरु गृहकार्यमा जुटिरहेका छन् । सत्ता गठबन्धनको कांग्रेससँग तालमेल मात्रै गर्ने भएकाले अन्य ४ दलकाबीचमा गठबन्धन गर्ने र बाबुराम भट्टराईसँग एकता गर्न लागिएको हो ।
यी दुवै तयारीले सार्थक रुप लिएमा चुनाव अघिनै समाजवादी केन्द्र वा यस्तै अन्य साझा नाममा गठबन्धनका ४ दल चुनाव लड्ने तयारीमा लागेका छन् ।
