सिन्धुपाल्चोक, ५ साउन । मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । गए रातिको वर्षासँगै आएको बाढीले ठाउँ–ठाउँमा बाटो बगाउँदा यातयात बन्द भएको हो ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनाएको स्थानीय बलसित खड्काले जानकारी दिए ।बाढीका कारण हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।
गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
