काठमाडौं, ५ साउन । मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार भएको छ । काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु¥याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार भएको हो ।
महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ ।
काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेको र त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याएको ख्लेको साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले बताइन् ।
किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा नै नभएको र किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ ।
उनलाई ललाइफकाई त्यहाँ सम्म पुर्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौंमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।
