काठमाडाैं, ६ साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुई जना घाइते भएका छन् ।
घाइते भएका पैदलयात्री अन्दाजी २७ वर्षीय युवक र मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय युवकको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ । घाइते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ ।
पैदल हिडिरहेका युवकलाई ठक्कर दिएर गएराती पौने ११ बजे मोटरसाइकल पल्टिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
यस्तै गरी बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा गएराती जिपको ठक्करबाट साइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते भएका साइकल चालक स्थानीय २५ वर्षीय सुमन पटेल र साइकलमा पछाडी सवार २६ वर्षीय दिपेन साह तेलीको न्युरो अस्पताल बीरगन्जमा उपचार भइरहेको छ ।
कलैयाबाट बीरगन्जतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले गएराती ९ बजे उनीहरु सवार साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् जिप सहित फरार भएका चालकको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट शिक्षा बाराले जनाएको छ ।
