काठमाडौं, ७ साउन। नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार सत्ता टिकाउन र भारतसँग कम्फर्टेबल बन्नको लागि विचलनको बाटोमा हिँडिरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकार सत्ता टिकाउन र भारतसँग कम्फर्टेबल बन्नको लागि विचलनको बाटोमा हिँडिरहेको बताएका हुन् । उनले विदेशीको रोहबरमा सत्ता साझेदारीको बार्गेनिङ गर्नु राष्ट्र र राष्ट्रियतामाथिकै बेइमानी रहेको बताए।
‘सरकार एकपछि अर्को गर्दै विचलनको बाटोमा हिँडिरहेको छ, हुँदाहुँदा सत्ता साझेदारीको बार्गेनिङपनि विदेशीको रोहबरमा विदेशीको आँगनमै हुनुले नेपाललाई कमजोर बनाउने काम भइरहेको छ।’ उनले भने। नेता ज्ञवालीले सरकारले राजनितिक दलहरूका बीचमा सहमती र सहकार्य भन्दापनि निषेधको राजनिति गर्दै आएको र संसदमा प्राप्त अधिकारको चरम दुरूपयोग गर्दै संवैधानिक निकायमाथि निरन्तर प्रहार गर्दै आएको बताए।
‘अरूको दल फुटाउन जसरी रातारात अध्यादेश ल्याउने र रातारात अध्यादेश फिर्ता गर्ने काम गरियो यसले संविधानको चीरहरण भएको छ,’ उनले भने। उनले सत्ता साझेदार दलका नेता र सरकारको कार्यशैली मुलुकको हितमा नभएको र संसदबाट पास गरिएको नागरिकता विधेयक पनि त्रुटीपूर्ण रहेको टिप्पणी गरे।
‘नेपालमा जन्मिएका नेपाली नागरिक र यसअघि नेपाली नागरिकता लिएका आमाबाबुका सन्तानले विना कुनै सन्देह नागरिकता पाउनुपर्छ यसमा हाम्रो समर्थन छ, तर वैवाहिक अंगिकृतको हकमा जसरी सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने विधेयक पारित गरियो यो मुलुकको हितमा छैन,’ ज्ञवालीले भने। उनले विवाह गरेको भोलिपल्ट नै नागरिकता दिने गरि विधेयक पारित गरेर नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुकेको बताए।
