काठमाडौं, २९ साउन। काठमाडौं महानगरको फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीले बाख्रालाई ठक्कर दिएपछि फोहोर व्यवस्थापनमा पुन: अवरोध भएको छ ।
फोहोर बोकेको गाडीले ककनी गाउँपालिकाको कागती गाउँको बाख्रालाई ठक्कर दिएको थियो । ठक्करले बाख्रा मरेपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेका हुन्। उनीहरुले बाख्राको क्षतिपूर्ति माग गर्दै आन्दोलन गरेका छन् । लामो समयदेखि काठमाडौंको फोहोर उठ्न नसक्दा काठमाडौंका चोक-चोकमा फोहोरको डंगुर थुप्रिएको छ ।
एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरले फोहोर लैजान आजबाट सुरु गरेको थियो । तर आजैबाट फोहोर व्यवस्थापनमा अवरोध हुँदा थप समस्या थपिएको छ ।
