काठमाडौं । संघीय संसद्को चालू अधिवेशनले रोकिएका विद्येयकहरु धमाधम पारीत गर्न थालेको छ । बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसकेका छन् । केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ।
तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ। सङ्घीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन्। संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन्। सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले विचाराधीन केही विधेयक अगाडि बढ्ने अवस्था रहेको बताए ।
सङ्घीय संसद्को अवधिमा कुल १५२ वटा विधेयक दर्ता भएका छन् । जसमध्ये फिर्ता भएका ११ वटा विधेयकको विवरण पनि संलग्न छ। तीमध्ये ९२ वटा विधेयक हालसम्म प्रमाणीकरण भइसकेका छन्। नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाले प्रस्तुत रूपमा नै पारित गरिसकेको छ। अब राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।
अब प्रतिनिधि सभामा चालू अधिवेशनमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, सार्वजनिक खरिद ऐन, भन्सार विधेयक, सैनिक ऐन संशोधन विधेयकलगायत विचाराधीन छन्। यस्तै प्रतिनिधि सभामा राष्ट्रिय सभाको सन्देशसहित पेस भएका मिडिया काउन्सिल, हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक पनि विचाराधीन छन्। यी विधेयकका विषयवस्तुमा विवाद रहेकाले तत्काल अघि बढ्ने अवस्था छैन।
यसैगरी प्रतिनिधि सभाको समितिमा सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवा विधेयक, नीति अनुसन्धान प्रतिष्ठानसहित छवटा विधेयक विचाराधीन छन्। प्रतिनिधि सभामा पाँचवटा गैरसरकारी विधेयक पनि विचाराधीन अवस्थामा छन्स जसमा चारवटा संविधान संशोधनसँग सम्बन्धित छन्।
यस्तै राष्ट्रिय सभामा २३ वटा विधेयक विचाराधीन छन् । जसमा भ्रष्टाचार निवारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, अध्यागमन विधेयक, प्रतिलिपि अधिकार विधेयक छन्। विद्युत् विधेयक, सार्वजनिक प्रसारण विधेयक, सुरक्षण मुद्रण, सामाजिक सुरक्षा र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक विचाराधीन छन्। तीमध्ये भ्रष्टाचार निवारण तथा अख्तियारका विधेयक विवादका कारण अघि बढ्न सकेका छैनन्। चालू अधिवेशनबाटै यी विधेयक टुङ्गो लाग्ने सम्भावना कम छ।
