काठमाडौं । केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा तीजको महत्त्व झल्काउने गीतहरु गुञ्जन्थे ।
तीजका यस्ता गीतले महिलाले सासु÷ससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक छ ।
म्याग्दीको बेनी नगरपालिका २ की ७१ वर्षीया गोमादेवी उपाध्याय विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको स्मरण गर्छिन् । गोमादेवी भन्छिन्, ‘आफू सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु । तर,आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।’
विगतका दिनमा गाउँघरमा साथीसँगी, नातेदार महिला, छिमेकी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको ज्येष्ठ नागरिक बताउँछन् । सानो छँदा तीज मनाउन मादलको तालमा छमछमी नाचेको आजभोलि उनीहरु झल्झली सम्झन्छन् । आजभोलि मनाउने तीज, तीजजस्तो नभई उच्छृंखल, तडकभडक र देखासिकीको चाडजस्तो लागेको बृद्धबृद्धाको गुनासो छ ।
दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।
तीज मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृंखल गीतको नियन्त्रण गर्नुपर्नेमा महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जोड खिन्छन् । वास्तवमा चाडपर्व हाम्रा राष्ट्रिय तथा सांस्कृतिक पहिचान हुन् । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो देखिन्छ । अरुको देखासिकी, तडकभडकभन्दा नेपाली नारीको महत्व बोकेको तीज सांस्कृति परम्पराअनुसार मनाइए नेपालीको सामाजिक तथा सांस्कृतिक पहिचान जोगिने देखिन्छ ।
