वीरगञ्ज । पछिल्लो केही दिनयता देशभर कोरोना भाइरसका संक्रमितको सङ्ख्या बढ्न थालेसँगै नेपाल-भारत नाकामा पनि दैनिकजसो सङ्क्रमित फेला पर्न थालेका छन् । यसैक्रममा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगञ्ज, नाकाको हेल्थ डेस्कमा भइरहेको कोभिड परीक्षणमा पछिल्लो महिनादेखि दिनहुँजसो कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् ।
कोरोनाको पहिलो लहरदेखि नै उक्त नाकामा हेल्थ डेस्क सञ्चालन गरी भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण हुँदै आएको थियो । हेल्थ डेस्ककी इन्चार्ज डा अनिषा महत्तोका अनुसार फेरि पनि भारतमा सङ्क्रमण बढ्न थालेसँगै वीरगञ्ज, नाकामा पनि सङ्क्रमित भेटिन थालेको हो । कोरोनाको तेस्रो लहर शून्य अवस्थामा पुगेपछि फागुनयता जेठ अन्तिम सातासम्म हेल्थ डेस्कको परीक्षणमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्य थियो । तर पहिलो पटक जेठ २३ गतेको परीक्षणमा पहिलो सङ्क्रमित फेला परेको उनले बताइन् ।
इन्चार्ज महत्तोका अनुसार गत जेठमा तीन हजार छ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा अन्तिम साता तीन जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गत असारमा तीन हजार सात जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत साउनमा भने तीन हजार चार सय छजनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै भदौको पहिलो एक सातामा पाँच सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत जेठ २३ गते देखि भदौ ९ सम्म एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको र यसको सङ्ख्या बढ्दो क्रममा रहेको उनले बताए।
डा महत्तोले भने, 'भारतसँगै नेपालमा सङ्क्रमण बढेसँगै वीरगञ्ज, नाकामा पनि सङ्क्रमित बढ्न थालेका हुन् । दैनिकजसो दुई/तीनजना नयाँ सङ्क्रमित फेला परिरहेका छन् ।नाकाको हेल्थ डेस्कमा २०७९जेठ २३ यता सङ्क्रमण पुष्टि भएका एक सय २७ जनामध्ये छ जना बाहेक अरु सबै भारतीय नागरिक हुन् ।'-रासस
