काठमाडौं । यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको अग्निलाई प्रदान गरिने भएको छ । जगदम्बाश्री पुरस्कार भने बनारसबाट प्रकाशित भएको 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको हो ।
मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बाश्री र लम्सालको कृति अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान प्रदान गर्दै आएको छ ।
८२ वर्षीय श्रेष्ठले कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउँदै आएका छन् । २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको अध्यक्ष दीक्षितले बताए ।
यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा आठ पुस्तक परेका थिए । जसमा डा. दामोदर पुडासैनी 'किशोर' को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत- नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली थिए ।
गत वर्ष नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरिएको थियो । त्यस्तै, लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार पाएका थिए ।
२०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो । त्यस्तै, २०४५ सालमा पहिलोपटक जगदम्बाश्री सम्मानबाट नारायणगोपाललाई सम्मानित गरिएको थियो ।
