काठमाडौं । राजधानीको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरबासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताए ।
अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्णरुपमा निःशूल्क र ११ स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा. सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
आजैदेखि सेवा सुरु हुनेगरी समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन भएको बताउँदै नगरबासीको सेवामा नगरपालिका दत्तचित्त भएर लागिपरेको सुनाए ।
न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरबासी सम्झौताबाट लाभान्वित हुनेछन् । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रम लिएर अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
कुन उपचारमा कस्तो सुविधा
सम्झौताअनुसार डेन्टल ओपीडी (कस्मेटिकबाहेक), जेनेरल ओपीडी, प्लास्टिक सजर्री ९कस्मेटिकबाहेक०, इमेर्जेन्सी, फिजियोथेरापी ओपीडी, ड्रेसिङ र नर्मल बेड निःशूल्क गर्ने सम्झौता भएको छ ।
यस्तै, इन्भेस्टिगेसनअन्तर्गत ल्याब, एक्सरे, ईसीजी, यूएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेसल ओपीडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, ईएनटीमा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निःशूल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो । रासस
