रामपुर (पाल्पा) । बजारका चोक, खुला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटेल तथा रेस्टुरेन्टमा रौनकता बढेको छ । दैनिक समूहमा दरखान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घरआँगन अहिले सुनसान जस्तै बनेका छन् ।
पार्टी प्यालेस, रेस्टुरेन्ट, होटेल व्यावसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ छ । नयाँ पहिरनमा सजिएर आमा समूह, महिला समूह तथा विभिन्न समूहमार्फत दरखाने र रमाउनेको जमात बढ्दो छ । यस परिवेशले सहर बजारमा मात्रै होइन ग्रामीण भेगमा पनि छोइसकेको छ । स्थानी सरस्वती सोमले विगतका वर्षमा तीजका बेला गाउँमै महिला जम्मा भएर खाने गरेको दर यसपटक भने पार्टी प्यालेसमा समूहमा मनाएको बताइन् । ‘चर्को घाममा खाना पकाउन झन्झट गर्नुपरेन, होटेलमा तयारी अवस्थामा रहेका खानेकुरा खाने, समयअनुसार आएको सुख-सुविधा उपभोग गर्नुपर्यो, साथीहरुसँग मज्जाले नाच्न गाउन पाइयो,’ उनले भनिन् ।
गाउँका चौतारी, प्रतीक्षालय र आमा तथा महिला समूहका भवनमा दरका परिकार तयार पारेर रमाइलोसँगै आपसमा शुभकामना आदानप्रदान गर्दै समूहमा तीज मनाइन्थ्यो । स्थानीय सीता देवकोटाले ठूला सहर बजारमा मात्र होइन साना सहर बजारका होटेल, रेस्टुरेन्टमा दरखानेको भीड देखिन्छ । पर्व मनाउने क्रममा पछिल्लो समय अरुको देखावटी प्रवृत्ति बढेको बताइन् ।
उनले भनिन्, ‘बजारका ठूला र महँगा होटेल भरिभराउँ भएका छन्, पहिला तीजका गीत गुञ्जने चौतारी, पौवा, बगैंचा यतिबेला सुनसानमय बनेका छन्, गाउँमा पकाएर खाने अल्छी प्रवृत्ति र अर्काको देखासिखिले गर्दा चाडपर्व भड्किलो बन्दै गयो ।’ पार्टी प्यालेसमा गएर तीजमा महिलाले दुःख र वेदनाका गीतमा नृत्य प्रस्तुत गर्दा ठाउँ र परिवेशअनुसार सुहाउँदो नभएको अहिले धेरैले सामाजिक सन्जालमा टिप्पणी गरिरहेका छन् । विशेषगरी गायिका विष्णु माझीको चरी जेलैमा बोलको गीतले निकै चर्चा पाएको छ ।
सामाजिक सन्जालमा होटेल तथा रेस्टुरेन्टमा महँगा लत्तापडा, गरगहनामा सजिएर दर खादै महिलाहरुले ‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदै-रुँदै बेसी मेलैमा’ बोलको गीतमा नृत्य गर्दा गीतको मर्मअनुसार उचित नभएको धेरैको टिप्पणी छ । गाउँकै चौतारी, बगैंचाको शीतल छहारीमा महिला जम्मा भएर पकाउने, खाने, गाउँने नाच्ने गर्दा छुट्टै आनन्द आउने गरेको अर्का स्थानीय कुन्तादेवी गैरेले बताइन् । ‘समूहमा साथीहरु मिलेर पकाउने, खाने गर्दा माइती जान नपाएपनि मन भुलाउँछ, आपसमा आफ्ना दुःखसुख साथीलाई सुनाउन पाइयो, आजकाल त होटेलमा गएर खाने नाच्ने चलन बढ्यो, यो प्रवृत्तिले विकृति ल्यायो समाजमा,’ उनले भनिन् ।
दुई वर्ष कोभिड १९ को प्रभावले घरभित्रै मनाइएको तीज यस वर्ष कोरोनाको सहज परिस्थिति बनेपछि भने चहलपहल बढेको नमस्ते पाल्पा होटेल तथा रेस्टुरेन्टका सञ्चाल कमल पाण्डेय बताउँछन् । ‘समूहमा एकैथरीका पोसाकमा पुराना गीत आफैंले गाएर नाच्ने गर्नुहुन्छ, केही आफ्नो इच्छाअनुसार युट्युब, मेमोरी कार्डमा नाचेर तीज मनाउनुभएको छ, पार्टी प्यालेस भए पनि महिला सामान्य तरिकाले गाउँघरमा जसरी मनाउनुहुन्थ्यो यसरी नै दरखाने र साथीहरुसँग शुभकामना आदानप्रदान गर्नुहुन्छ, हामीले पनि न्यूनतम शुल्क लिएर सेवा दिइरहेका छौँ,’ उनले भने ।
शनिबार र बिदाका दिन २५० जनासम्म र अन्य दिन कम मात्रामा आउने गरेको उनको भनाइ छ । न्यूनतम ६०० देखि बढीमा एक हजार रुपैयाँसम्म प्रतिव्यक्ति शुल्क कायम गरिएको छ । विभिन्न काम तथा पेसा व्यावसायमा आबद्ध रहेका महिलालाई सामूहिक रुपमा दरखाने कार्यक्रममा सहभागी हुने अवसर मिल्दैन । कार्यालय समय सकिएपछि, दिनभर व्यापार गरेर साँझपख होटेलमा साथी, दिदीबहिनी, आफन्त जम्मा भएर नाच्ने गाउने एउटा अवसर मिलेको सागर श्रेष्ठ बताउँछन् । होटेल तथा रेस्टुरेन्टमा दर खान जाँदैमा विकृति नै हो भनेर भन्न नमिल्ने र कामको व्यस्तताले गर्दा समयअनुसार चलनचल्तीमा आएका सुख-सुविधा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
सुशीला रेग्मी
