काठमाडौं । हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । हिन्दुधर्मावलम्बी महिलाहरूले शिवजीको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आज शिवालयहरुमा पूजाका लागि महिलाहरुको भिड लागेको छ । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने जनविश्वास छ । आज महिलाहरुका लागि भनेर सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको देख्न सकिन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन् । अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
