ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा नयाँ दिल्ली जाँदैछिन्। कोभिड १९ महामारी सुरु भएयता उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नेछिन् । हसिनाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट गर्नेछन् । उनले राजस्थानको अजमेरस्थित सुफी सन्त मोइनुद्दिनको पनि भ्रमण गर्ने सम्भावना छ ।
सतह र सामुद्रिक सीमांकन, रक्षा सहयोग बढाउने, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवर्द्धन एवम् त्यसको व्यापार, बन्द व्यापार एवम् वाणिज्य दक्षिण एसियामा दिगो स्थायित्व कायम गर्नेलगायत पारस्परिक हित र चासको विषय वार्ताका शीर्ष विषयवस्तु हुनेछन् ।
सन् २०२१ मा दुई देशबीचको सम्बन्ध ५०औँ वर्षमा प्रवेश गरेपछिको हसिनाको पहिलो भ्रमणलाई भारतले महत्व दिएको छ । सोही वर्ष प्रधानमन्त्री मोदीले बंगलादेशको भ्रमण गरेका थिए। सन् २०१५ यता दुवै देशका प्रधानमन्त्रीबीच १२ पटक भेट भइसकेको छ । गत वर्ष बंगलादेशको स्वतन्त्रताको ५०औँ वार्षिकोत्सव तथा त्यसका संस्थापक शेख मुजिबुर रहमानको १००औँ जन्मजयन्ती पनि मनाइएको थियो ।
केही वर्षयता भारत र बंगलादेशले सम्पर्क सञ्जाल विस्तार तथा क्षेत्रीय सहयोग प्रवद्र्धनका प्रयास गरिरहेका छन् । अखौरा-अगरतला रेलमार्ग चाँडै सञ्चालनमा आउने तथा केही साताभित्रै अगरतला र चटगाउँ हवाईसेवाबाट जोडिने अनुमान गरिएको छ । प्रधानमन्त्री हसिनाको भ्रमणका क्रममा दुवै देशले कुसियारा नदीको पानीको बाँडफाँटसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
