किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियन्त्रण गरेका धेरै बस्ती पुनः कब्जामा लिएको दाबी गगरेका छन् । रुसविरु४को यस कार्यलाइ उनले सुखद समाचारको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ। जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्नेबारे जानकारी भने दिएका छैनन् । उनले अहिले ती ठाउँहरूको नाम भन्ने सही समय नभएको जनाए ।
पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ। तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन् ।अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको बताएका छन्। भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,'मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन्।' सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे।
रुसी सेनालाई हराएरै छाड्ने !
युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ। युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन्। ती क्षेत्रमा ६ महिना अघि युद्ध सुरु भएदेखि रुसले पर्याप्त सैन्य नियन्त्रण कायम राखेको छ। केही विवरणहरूका अनुसार युक्रेनी सेना इज्युम सहरबाट केही किलोमिटर टाढा हुन सक्छन्। उक्त सहर रुसको सैन्य आपूर्ति शृङ्खला जोड्ने महत्त्वपूर्ण स्थान हो।
यता संयुक्त राज्य अमेरिकामा एक कार्यक्रममा बोल्दै एक वरिष्ठ रक्षा अधिकारी कोलिन काहलले युक्रेनी सेनाले केही क्षेत्रमा रुसी सेनाहरूले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताए। 'यी प्रारम्भिक दिनहरू हुन्। मलाई लाग्छ युक्रेनीहरूले विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेका छन्। हामीले कसरी घटनाक्रम सतहमा आउँछ भन्ने देख्नेछौं,' उनको भनाइ उदृत गर्दै अन्रराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले दक्षिणमा रुसी पक्षको तुलनामा युक्रेनी पक्षका तर्फ राम्रा परिणामहरू देखिएको विश्वास व्यक्त गरेका छन् ।तर, अवस्था अझै नाजुक छ।
बुधवार राति मात्रै युक्रेनी जनरल स्टाफले युक्रेन पक्षले खार्किभ र डोनेट्स्क क्षेत्रमा सबै रुसी आक्रमणहरू पन्छाएको बताएका थिए। तर दुवै पक्षबाट तोप र हवाई आक्रमणहरू जारी रह्यो र त्यसले थुप्रै क्षेत्रमा क्षति पुर्यायो। राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी देशको पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिए। यसले आगामी आर्थिक वर्षलाई प्रभावित पारे पनि पेन्सन जस्ता मुख्य सामाजिक प्रावधानहरू कायम राखिने उनले वाचा गरे।
यद्यपि, 'रक्षा, देशको आर्थिक विकास, जनताको सामाजिक र सांस्कृतिक उन्नतिमा मद्दत नगर्ने कम महत्त्वका सम्पूर्ण खर्चहरू सकेसम्म कम गर्न आवश्यक छ', उनले चेतावनी दिए। संयुक्त राष्ट्र संघका निरीक्षकहरूले भने युक्रेनी जनताले भोगिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । एक वरिष्ठ मानव अधिकार अधिकारीले युक्रेनमा मानिसहरूको विस्थापन र विशेष गरी बालबालिकाको अवस्थाबारे चिन्तित रहेको बताएकी हुन्।
मानव अधिकारसम्बन्धी सहायक महासचिव इल्जे ब्रान्ड्स केहरिसले भनिन्, 'सहाराविहीन बालबालिकाहरूलाई जबरजस्ती रुसले कब्जा गरेको क्षेत्र वा रुसमा नै स्थानान्तरण गरेको विश्वसनीय आरोपहरू लागेका छन्।' अमेरिकाले वयस्क युक्रेनीहरूको स्थानान्तरणको बारेमा चिन्ता व्यक्त गरिसकेको छ ।
अमेरिकी आक्रोश
अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनलाई 'फिल्ट्रेशन अपरेसन' भनिने कारबाही अन्तर्गत रुसी नियन्त्रणमा रहेको युक्रेनका क्षेत्रहरूमा जबरजस्ती पठाइने युक्रेनीहरूको सूची राखेको आरोप लगाएको छ। 'फिल्ट्रेशन एक अमानवीय शब्द हो। यसले मस्कोले खतरा ठानेका व्यक्तिहरूलाई कैद गर्न, जबरजस्ती निर्वासन वा बेपत्ता पार्ने अभियानलाई व्याख्या गर्छ,' प्रवक्ता वेदान्त पटेलले भनेका छन् ।
वेदान्त पटेलले यस प्रणालीलाई व्यापक र उन्नत प्रविधिको प्रयोगसहित गरिएको कारबाहीको रूपमा व्याख्या गरे। उनले अमेरिकासँग क्रेमलिनका अधिकारीहरूको यस परियोजनासँगको सम्बन्ध पुष्टि गर्ने प्रमाणहरू रहेको बताए। यद्यपि, रुसका संयुक्त राष्ट्रसङ्घका राजदूत भासिली नेबेन्ज्याले भने रुस भ्रमण गर्ने युक्रेनीहरूले दर्ता प्रक्रिया मात्र पूरा गर्ने बताएका छन्।-बीबीसी
