काठमाडौं। वर्षा र सहकालका देवता इन्द्रको पूजा गर्दै आज (सोमबार) इन्द्रजात्रा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौं उपत्यकासहित धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ ।
यो पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा निकालिन्छ । यस्तै विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजन गर्ने गरिन्छ ।
पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै पर्व मनाइने गरिन्छ । यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर पनि गरेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने गरिन्छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।
दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम
काठमाडौंबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिआएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ। धिमे बाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने पनि परम्परा छ ।
