किएभ।अहिले जारी प्रत्याक्रमणका कारण युक्रेनी सेनाले रुसी सेनाबाट थप क्षेत्र आफ्नो कब्जामा लिन सकेको त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दाबी छ। उनका अनुसार सेनाले सेप्टेम्बरयता युक्रेनको पूर्व र दक्षिणमा रुसी नियन्त्रणमा रहेका ६,००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्र फिर्ता लिइएको हो।
रुसले उत्तर-पूर्वी खार्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको स्वीकार गरेको छ जसलाई केही सैन्य विज्ञहरूले युद्धको उल्लेख्य घटनाक्रमका रूपमा हेरेका छन्। मस्कोले युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना पुनः सङ्गठित हुनका लागि फिर्ता गरेको बताएको छ। तर उक्त दाबीलाई रुसमा समेत हाँसोको विषय बनाइएको छ। अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले सेनाको फिर्तीलाई लज्जास्पद भनेर व्याख्या गरेका छन्।
अमेरिकास्थित थिंक ट्यांक द इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्लू)का मेसन क्लार्कले त्यो रुसी सेनाहरूको सम्पूर्ण हार भएको बताए। त्यहाँ उनीहरूले थुप्रै उपकरणहरू छोड्न बाध्य भएका छन्। त्यस्तै रुसी सेनाको लागि गत मार्चको अन्त्यमा राजधानी किएभ नजिकैको असफल अभियान पछिको यो अर्को महत्त्वपूर्ण असफलता हो।
भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने सेप्टेम्बरको सुरुवातदेखि आजसम्म योद्धाहरूले पूर्व र दक्षिणका ६,००० वर्गकिलोमिटर भन्दा बढी युक्रेनी क्षेत्रफललाई स्वतन्त्र पारिसकेका जनाएका छन् । प्रत्याक्रमणको यो स्तर पुष्टि भयो भने निकै छिटो भएको देखिन्छ। बिहीवार राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर भूमि, शनिवार साँझ २ हजार वर्गकिलोमिटर र आइतवार उक्त तथ्याङ्क झन्डै तीन गुना बढेर ३,००० वर्गकिलोमिटर पुन:प्राप्ति गरेको बताएका थिए।
जेलेन्स्कीले जबाफी आक्रमणमा संलग्न युक्रेनका धेरै ब्रिगेडहरूलाई धन्यवाद दिए र उनीहरूका लडाकुहरूलाई सच्चा नायकको संज्ञा दिएका छन् । उनले कुनकुन युक्रेनी सहर तथा गाउँहरू रुसी नियन्त्रणबाट मुक्त गरिएको हो भन्नेबारे कुनै जानकारी दिएनन्। रुसले यसअघि आफ्नो सेनाले खार्किभ क्षेत्रका प्रमुख सहरहरू बालाक्लिया, इज्युम र कुपियान्स्क छोडेको स्वीकार गरेको थियो। रुसले अहिले यस क्षेत्रको सानो पूर्वी भाग मात्र नियन्त्रणमा राखेको छ।
क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले महत्त्वपूर्ण प्रगति गरेको विवरणहरू आएका छन्। युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो। ब्रिटेनका रक्षा अधिकारीहरूले युक्रेनी सेनाको पछिल्लो सफलताले रुसको समग्र परिचालन योजनामा "महत्त्वपूर्ण प्रभाव" पार्ने बताएका छन्। यद्यपि, क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले "सुरुमा तय गरिएका सबै कार्यहरू पूरा नभएसम्म" युक्रेनविरुद्ध कारबाही जारी रहने कुरामा जोड दिएका छन्।
रुसले पछिल्ला दिनहरूमा युक्रेनले कब्जामा लिएका क्षेत्रमा आफ्ना सेनाले आक्रमण जारी राखेको बताएको छ। इज्युमका मेयर भलेरी मार्चेन्कोले बीबीसीसँग आफ्नो सहरमा युक्रेनी सेनाको उपस्थिति पुष्टि गरे र त्यहाँ आफ्नो राज्यको झन्डा फहराएको बताए। सेना अहिले युद्धग्रस्त सहर सफा गर्नमा व्यस्त छ ।
युक्रेनी सेनाले मानिसहरूको घरमा लुकेर बसेका रुसी सैनिकहरूको खोजी गरिरहेका छन्। मार्चेन्कोका अनुसार करिब १० दिन" पछि त्यस सहरबाट अन्यत्र स्थानान्तरण हुन बाध्य बासिन्दाहरू सुरक्षित रूपमा फर्कन सक्नेछन्। रुसले युद्ध मैदानमा खेपेको असफलताको बदला लिन नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाइएको छ। आइतवार भएको शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमणका कारण उत्तर-पूर्वी युक्रेनमा ठूलो मात्रामा विद्युत् कटौती भएको र हजारौँ मानिसहरूलाई केही घण्टासम्म बिजुली र पानीबाट वञ्चित गरिएको थियो।-बीबीसी
